रासस : बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै हुनुहुन्थ्यो । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ७ दैलातुङ्गका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो, “पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।” यहाँ ३२ घर बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुनुहुन्छ ।
बयासी वर्षीय गजवीरले नेपालको राजनीतिक व्यवस्था फेर्न यो क्षेत्रबाट अगुवाइ गर्नुभएको थियो । पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२–६३ मा जनआन्दोलनको नेतृत्व गर्नुभएका गजवीर आफ्नै छाक टार्न समेत जोहो गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ ।
अठसठ्ठी वर्षीया श्रीमतीसँगै बस्दै आउनुभएका गजवीरका छ भाई छोरा र चार छोरी छन् तर उनीहरू कुनै पनि साथमा छैनन् । यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटे समुदायले डुङ्गा तार्ने काम गर्दथे । दैलातुङ्गदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जाने गर्दथे । गजवीरले १३ वर्षको उमेरदेखि डुङ्गा तार्ने काम गर्दै आउनुभएको थियो ।
तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन । सर्वसाधारणलाई नदी वारिपारि गर्न डुङ्गाको सहारा लिनुपथ्र्यो । मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो । अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुङ्गा गण्डकी किनारमा फालिएको छ र उहाँको आम्दानीको स्रोत बन्द भएको छ ।
यहाँकै रुकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो । उनान्सत्तरी वर्षका रुकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो । गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आउनुभएका उहाँले आफ्नो जीवनकालमा छ पटक संसदीय निर्वाचनमा भोट हाल्नुभएको छ । “पहिला पहिला त घर आएर भोट माग्थे, अहिले त आएका छैनन्”, आसन्न मङ्सिर ४ को चुनावलाई लक्षित गर्दै उहाँले भन्नुभयो, “यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन् ।”
रुक बहादुरको घर नजिकै खानीगाउँ दैलातुङ्ग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो रहेको छ । पाल्पा निर्वाचन क्षेत्र नं २ मा पर्ने यो क्षेत्र लुम्बिनी प्रदेशको २ ९१० हो । यहाँबाट २०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा ९एमाले० का सोमप्रसाद पाण्डेय निर्वाचित हुनुभएको थियो । त्यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसका वीरबहादुर राना निर्वाचित हुनुभएको थियो । रानाको जन्मघरसमेत यसै वडामा पर्दछ । उहाँ अहिले लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत हुनुहुन्छ । पाण्डेय र राना दुवै अहिले गठबन्धनको तर्फबाट पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा उमेदवार हुनुहुन्छ ।
अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । “घर उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैन्”, स्थानीयवासी पवित्रा बोटे भन्नुहुन्छ, “हामीलाई के नै चाहिएको छ र रु दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो ।” रासस