[मिडियामा कर्णाली : यो समाचार कारोबारडेली डटकमबाट लिइएको हो - सम्पादक ]
काठमाडौँ [कारोबारडेली ] : २८ फागुन २०७७ मा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्यांग्रा हिउँचितुवाको आक्रमणमा परी मरे । खोरमै हिउँचितुवा पसेपछि सबै च्यांग्रा मारिए । २३ माघ २०७८ मा साल्दाङकै लुरी गाउँमा अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्यांग्रा हिउँचितुवाको आहारा बनेको थियो ।
यी त केही उदाहरण मात्र हुन् । यहाँका बासिन्दाले पालेका भेडाच्यांग्रा हिउँचितुवाको शिकार बन्ने गरेका छन् । करिब २५ हजारभन्दा बढी भेडाच्यांग्रा रहेको उपल्लो डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएका हिउँचितुवाले दैनिकजसो दु:ख दिने गरेको छ । सन् २०१७ देखि २०२२ सम्ममात्र दुई हजारभन्दा बढी भेडाच्यांग्रा खोरमै आएर हिउँचितुवाले शिकार बनाएको निकुञ्जकै तथ्यांकमा उल्लेख छ ।
आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा मुख्य आम्दानीको स्रोत भनेकै पशुपालन हो । प्रतिघरमा ५० र अधिकतम पाँच सयसम्म भेडाच्यांग्रा पालन गरेर आर्थिक रूपमा सबल बन्न यहाँका स्थानीयवासीले धेरै मेहनत गरिरहेको डब्लूडब्लूएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए । उनका अनुसार हिउँचितुवाको आहारामध्ये ४२ प्रतिशत घरपालुवा पशुचौपाया नै रहेको छ ।
निकुञ्जभित्र गाउँ भएका कारण पनि यहाँका पशुचौपाया हिउँचितुवाको शिकार हुने गरेका छन् । वन्यजन्तुको शिकार गर्न नसकेपछि हिउँचितुवाले घरपालुवा जनावरलाई आहारा बनाउँदै आएको अधिकृत हमालले जानकारी दिए । निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले स्थानीयवासीसँग मिलेर पशुचौपाया जोगाउन योजना बनाइरहेको बताए ।
मारिएका च्यांग्राको क्षतिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) अनुसार निकुञ्जद्वारा राहत दिने गरेको छ । तर साना र असुरक्षित खोर भएकै कारण हिउँचितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौंको क्षति पुर्याउने गरेका छन् । खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्बोधन गरेमात्र यहाँका नागरिकलाई राहत पुग्ने हमालको भनाइ छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको बताउँछन् । स्थानीय तेन्जिङ ग्लजेन लामाले सुधारिएको खोर बनाएपछि हिउँचितुवा ३४ पटक खोरको छानामा आएर आक्रमण गरेको र असफल भएको बताए ।
पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशुचौपायालाई हिउँचितुवाले आक्रमण गर्नसक्ने डरले राति राम्रोसँग सुत्न पनि नपाउने यहाँका बासिन्दा अहिले सुधारिएको गोठका कारण ढुक्कसँग सुत्न पाएको उनले बताए । निकुञ्जभित्र रहेका सबै गाउँमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके हानि कम गर्न सकिने उनको भनाइ छ । अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षतिवापत राहत बुभ्mदै आएका छन् ।
बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ । समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ सँग एकीकृत गरी सञ्चालन गर्नसके वन्यजन्तुबाट पीडित परिवारले दिगो रूपमा राहत हुने अधिकृत हमालले बताए ।
अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रिमियम (बिमांक रकम) तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहत दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन् । माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसमक्ष जानकारी गराएका थिए ।
उपल्लो डोल्पामा माओवादी अध्यक्ष प्रचण्डसहित अर्थमन्त्री जनार्दन शर्मा भ्रमणमा जाँदा स्थानीयवासीले पशुपालन व्यवसायलाई दिगो बनाउन पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाई व्यावसायिक रूपमा लिन बजेटको व्यवस्था गरिएको छ । हिमाली सहरको अवधारणाका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट विनियोजन गरी काम सुरु गर्न लागिएको छ । निकुञ्जभित्र गाउँ भएका कारण यहाँ धेरै क्षति हुँदै आएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवाको संख्या बढेको पाइएको छ । २००९ मा उच्च प्रविधिबाट गरिएको सर्वेक्षणअनुसार १ सय १० देखि १ सय ३० को हाराहारीमा हिउँचितुवा रहेको उल्लेख छ । २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छैन । सर्वेक्षण गरिएको ‘डाटा’ सार्वजनिक नगरिए पनि कम्तीमा एक सयको संख्यामा बढेको हुनसक्ने आकलन छ ।
यस्तै हिउँचितुवाको मुख्य आहारको रूपमा रहेको नाउरको संख्यासमेत २०२१ को गणनाअनुसार चार हजार पाँच सयभन्दा बढी रहेको निकुञ्जले जनाएको छ । एक हिउँचितुवाले वर्षमा ४० वटा जति नाउरको सिकार गर्छ । यो हिसाबले निकुञ्जमा भएका नाउरको संख्या मापन गर्दा हिउँचितुवाको आहार पर्याप्त भएको पाइएको छ । प्रत्येक वर्ष नाउरको गणना गरिएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । हिउँचितुवाले उमेरको आधारमा नाउरको संख्या शिकार गर्ने उनले बताए ।
कारोबारडेली डटकमको समाचार सामग्री