चौतारा : आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो ।
कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । “विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे”, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भनिन्, “उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो ।”
समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझिन् । अनि आफूलाई के–के हुन्छ भनेर पनि सोधिन् । विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उनको भनाइ छ । “यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो”, उनले भने, “समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।” स्वास्थ्य शिक्षापछि विद्यार्थी अहिले ढाँट्दैनन् । उनले अहिले विद्यार्थीमा यस्तो नदेखिएको दाबी गरिन् ।
विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । “आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए”, प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भनिन्, “विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।” पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उनले बताए ।
यहाँका बालबालिका विशेषगरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए । उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन् । विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाइबारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सँदै गएको उनको भनाइ थियो । गाउँमा वर्ष दिनमा आठ–दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे । पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उनले जानकारी दिए ।