काठमाडौँ : सत्ता गठन्धनले देशभर भागबण्डा टुंगाएर चुनावी मैदानमा आफ्ना उम्मेद्वार उतारेको छ । तत्कालीन सत्तासीन एमालेले सरकारमा हुँदा दुई पटक गरेको संसद् विघटनलाई प्रतिगमन भन्दै एमाले हराउ अभियानमा होमिएको सत्ता गठबन्धनले चुनाव जित्न सक्ने उम्मेद्वारलाई मैदानमा उतारेको हो ।
यही क्रम कर्णालीमा पनि छ । तर कर्णालीको सत्ता गठबन्धनको बलमा नेताहरुकै गृह जिल्लामा सत्ताकै शक्ति प्रदर्शन भइरहेको छ । उम्मेद्वारी र भागबण्डा टुंग्याउनेदेखि अहिले सत्ताको भागबण्डा लगाउनसम्म पनि कर्णालीमा नेताहरुले आफुखुशी शक्ति देखाएका छन् । जसको मारमा सबैभन्दा सानो दल र एमाले हराउन उपयोग भइरहेको नेकपा एकिकृत समाजवादी भइरहेको छ ।
कर्णालीमा सुर्खेत र रुकुम पश्चिम कर्णालीका शीर्ष नेताहरुको गृह जिल्ला हो । सुर्खेतका नेता पूर्णबहादुर खड्का कांग्रेस उपसभापति हुन् । उनी कर्णाली मात्रै होइन, केन्द्रकै सबैभन्दा शक्तिशाली नेता हुन् । केन्द्रीय नेतृत्वमै सबैभन्दा शक्तिशाली रहेका खड्का सुर्खेत क्षेत्र नं. १ बाट प्रत्यक्ष चुनाव लडिरहेका छन् ।
पाँच वर्षअघि चुनाव हारेका खड्का यसपटक माओवादीको साथले चुनाव जित्ने योजनामा छन् । एमालेका ध्रुव शाहीसँग कडा प्रतिष्पर्धा गरिरहेका खड्काले चुनाव जित्ने हरसम्भव प्रयास गर्दा सुर्खेतमै भागबण्डा टुंगाउन सकेनन् । क्षेत्र नं. २ बाट कांग्रेसकै हृद्यराम थानी प्रत्यक्ष उम्मेद्वार छन् ।
भागबण्डा टुंग्याउने विषयमा निर्णायक मानिएका खड्काले सुर्खेतमा समाजवादीलाई एक सिट पनि दिन सकेनन् । देशभरै सत्ता गठबन्धन चुनावी मैदानमा रहँदा सुर्खेतमै गठबन्धनविरुद्ध नेकपा एकिकृत समाजवादीका नेता मोहन बडुवालले उम्मेद्वारी दिएर चुनाव प्रचार गरिरहेका छन् ।
प्रदेशसभातर्फ गठबन्धनका उम्मेद्वार बिन्दमान बिष्टसँग बडुवालको प्रतिष्पर्धा छ । जबकी दुवै जना सत्तागठबन्धनकै उम्मेद्वार हुन् । बडुवाललाई पार्टीले नै टिकट दिएको हो । अहिले बड्वाल र बिन्दमानबीचको कडा चुनावी प्रचार भइरहेको छ । पश्चिम सुर्खेतमा बडुवालको राम्रै प्रभाव मानिन्छ ।
बिन्दमान अर्थमन्त्री भएका बेला उनले पश्चिम सुर्खेतमा बजेट पारेका छन् । दुवैले जित्ने दाबी गरेपनि यसले सत्ता गठबन्धनलाई नै केही चुनौति थपेको छ । यस्तै कर्णालीका अर्का टावर लिडर जनार्दन शर्माको गृह जिल्लामा रुकुममा पनि सत्ता गठबन्धनको तालमेल मिलेको छैन ।
प्रत्यक्षतर्फ चुनाव लडेका शर्मा आफैँले स्पष्टसँग बागबण्डा टुंग्याउन सकेनन् । जसकारण रुकुम पश्चिममा स्वतन्त्र उम्मेद्वारी धेरै छन् । रुकुम पश्चिमममा एमालेका नन्दराम देवकोटा मुख्य प्रतिष्पर्धी मानिएका छन् ।
तर जनार्दन सुरुदेखिका चुनावमा हावी छन् । जसकारण उनलाई प्रतिपक्षीको खासै डर देखिदैन । तर रुकुम पश्चिममा राजन केसी, तारक केसी र लालबहादुर महतको उम्मेद्वारी छ । यसपटक स्थानीय तहको चुनावमा मुसिकोटमा कांग्रेस उम्मेद्वार विजयी भएका थिए । सोही कारण रुकुम पश्चिममा पनि गठबन्धनको तालमेल मिलेको छैन । परिणामस्वरुपम बागी उम्मेद्वारको लर्को नै छ ।
यस्तै कर्णालीमा नेकपा एकिकृत समाजवादीबाट टावर लिडर बनेका प्रकाश ज्वाला पनि चुनौतिपूर्ण अवस्थामा चुनाव लडिरहेका छन् । एमालेका राजेन्द्रवीर रायसँग चुनाव लडेपनि सल्यान ज्वालाकै गढ मानिन्छ । तर यतिबेला एमालेबाट फुटेर बनेको पार्टीबाट उम्मेद्वारी दिएका कारण उनलाई चुनौति छ । यद्यपी उनी पनि गठबन्धनको पूरा साथ र भरोसा पाउन सकेका छैनन् ।
सल्यानबाट राजेन्द्र शाह, डिल्ली बुढाथोकी र जुद्धबहादुर सिंह स्वतन्त्र उम्मेद्वारी दर्ता गर्दै चुनावी मैदानमा छन् । यसले ज्वालालाई झन् ठूलो चुनौति थपेको छ । कर्णालीमा सबै जिल्लामा सत्ता गठबन्धनले सहमति गरेर उम्मेद्वार उठाएको छ ।
तर कही कांग्रेस, कहीँ माओवादी र कही समाजवादीकै नेताहरुले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । यसले गर्दा धेरै ठाउँमा गठबन्धनकै उम्मेद्वारलाई सास्ती र चुनौति थपिएको छ । अनि कांग्रेस र माओवादीको पेलानमा समाजवादीका नेता, कार्यकर्ता र उम्मेद्वार परेका छन् ।
कर्णालीमा शक्तिशाली माओवादी मानिन्छ । त्यसपछि कांग्रेसको संगठन बलियो छ । तर भर्खरै एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीको भने न संगठन बलियो छ न त कार्यकर्ता पंक्ति नै । जसकारण यो चुनावमा खासगरि कर्णालीमा नेकपा एकिकृत समाजवादी माओवादी र कांग्रेसको पेलानमा परेको छ ।