सुर्खेत : निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका हुन् ।
राष्ट्रिय समाचार समिति राससको सहकार्यमा निर्वाचन आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताए ।
डा तुलाधारले भने, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।” सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताए ।
“सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो”, उनले भने, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।”
आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताए । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।
राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मिडियाको महत्वपूर्ण भूमिका रहने बताए । उनले निर्वाचनको समयमा पत्रकारले आचारसंहिता उल्लङ्घनका विषय उजागर गर्नुका साथै पत्रकार स्वयंले पनि आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताए ।