रासस : खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन् । उनी बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन् ।
गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उहाँलाई एक दुई जना दानी मानिस दाताको आशा नलाग्ने कुरै भएन । उनी दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउँदैनन् ।
हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर महिना बित्यो, वर्ष बित्यो राहत आएन ।
“बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ”, उनले भने, “आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।”
गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । “सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो”, बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उनले बताए ।
गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गर्नुभएको थियो । ज्ञानदेवी खातीले भने, “बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।”
उनले भोको पेटले आश्वासन थेग्न नसक्ने बताए । उनले भने, “भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।”
ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उनले बताए । “गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन”, उनले भनेका छन् । रासस