सुर्खेत : यसपटक सुर्खेत क्षेत्र नं १ मा झण्डै १० वर्षपछि विजय फर्काउने योजनामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का छन् । यसअघि उनले २०७० सालको दोस्रो संविधानसभा चुनावमा जित हात पारेका थिए ।
त्यतिबेला माओवादी र एमाले कमजोर भएका बेला सुर्खेतका तीन वटै क्षेत्रमा खड्कासहित कांग्रेसका तीन जना उम्मेद्वार विजयी भएका थिए । तर २०७४ सालको पहिलो संघीय संसद्को चुनावमा भने वाम गठबन्धनले गर्दा खड्का पराजित हुन पुगे ।
२०७० सालको चुनाव जितेपनि खड्का दुई वर्ष मात्रै संसदमा रहे । २०७४ सालमा नयाँ चुनाव आयो । सोही कारण पनि झण्डै १० वर्षपछि उनले विजय यात्रा फर्काउने योजना बनाएका छन् । नेकपा एमालेबाट भने यसपटक पनि ध्रुव शाहीले टिकट पाएका छन् ।
उनी गएको चुनावमा जित हात पारेका सांसद हुन् । सांसद भएको बेला उनले सुर्खेत क्षेत्र नं. १ मा केही बजेट पार्न सफल भएका थिए । सोही कारण एमाले कार्यकर्तामा उनको प्रभाव कायमै छ । तर यसपटक कांग्रेस र माओवादी मिलेका कारण शाहीलाई जित दोहोर्याउन निकै सकस छ ।
कांग्रेस राजनीतिको शीर्ष स्थानमा पुग्नै लागेका बेला खड्कालाई यतिबेला जित आवश्यक छ । सभापति शेरबहादुर देउवापछिको उत्तराधिकार सम्हाल्न पनि यतिबेला कम्तीमा खड्कालाई जित्नैपर्ने दबाब हुनेछ ।
यसकारण पनि उनी सुरुदेखि नै सुर्खेत केन्द्रित भएर चुनावको प्रचारप्रसारमा छन् । यसपटक कांग्रेस माओवादी गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका थिए । पाँच वर्षअघि एमालेले पनि माओवादीकै साथ सहयोगले चुनाव जितेको थियो ।
यसपटक भने माओवादी साथमा नहुँदा कांग्रेसलाई प्रत्यक्ष फाइदा पुगेको छ । स्थानीय तहदेखिको चुनावी गठबन्धन संसदीय चुनावमा समेत कायम रहँदा यसको प्रत्यक्ष फाइदा कांग्रेसले उठाएको छ । सुरुदेखि नै गठबन्धनका सुत्राधारका रुपमा काम गरिरहेका खड्कालाई यो निरन्तरता दिनुपर्ने चुनौति छ ।
यद्यपी उनले सोचेअनुसार समाजवादीलाई पनि उनीहरुको आत्मसम्मान फर्काउने गरि केही हिस्सा दिने योजना सफल भएन । खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भत्काउन र संसद विघटनविरुद्ध सडक आन्दोलन गर्दा माओवादी र समाजवादी निर्णायक थिए ।
सोही कारण पनि खड्का समाजवादी उम्मेद्वारलाई जित हात पार्ने वातावरण बनाउन चाहन्थे । तर त्यो सफल भएन । परिणामस्वरुप सुर्खेत क्षेत्र नं. २ (ख)मा समाजवादीका उम्मेद्वार मोहन बडुवाल चुनावी मैदानमा छन् । जहाँ सत्ता गठबन्धनले बिन्दमान बिष्टलाई उम्मेद्वार बनाएको छ ।
कर्णालीकै शीर्ष नेतासमेत रहेका खड्काले यसपटक संसदीय चुनाव जितेर कम्तीमा पाँच वर्ष फेरि कर्णाली, कांग्रेस र स्वयंम व्यक्तिगत राजनीतिक उचाईको उच्च प्रयासमा हुनेछन् । यद्यपी खड्कालाई टक्कर दिइरहने ध्रुव शाही पनि तम्तयार देखिन्छन् ।