नाम : सुनमाया बुढा
पेशा : अल्ट्रा धावक
कर्णाली व्यक्तित्व नं. : ७३
काठमाडौँ : जुम्लाको पातारासीमा जन्मेकी सुनमाया बुढा बाल्यकालमै कुपोषणले मृत्युको मुखमा पुगेकी थिइन् । जसरी उनी छोराको आशमा आमाबुवाको कोखबाट पाँचौ छोरी भएर जन्मिइन्, कर्णालीको गरिबीले उनलाई कुपोषणको मुखमा धकेलेको थियो ।
अभावले उपचार गर्ने पैँसो नपाएका उनका अमाबुवाले गाउँकै जडीबुटीले उपचार गरे । महिनौ लामो प्रयास गर्दा पनि उनको कुपोषण नहट्दा धेरैले आश मारिसकेका थिए । तर सास रहुन्जेल आश नमार्नु भनेझै उनका आमाबुवाको अथक प्रयासले सुनमायाले दोस्रो जूनी पाइन् ।
बलतल्ल मृत्युको मुखबाट बचेकी उनले बाँचेकै कारण घरमा सबैको माया पाएर स्कुल टेकिन् । कर्णालीमा अहिले पनि छोरीमान्छेलाई पढाउनु हुँदैन भन्ने प्रचलन छ । जुन सुनमायाले तोडिन् । पढेपछि उनले स्कुलमा हुने दौड प्रतियोगिता जितिन् । त्यसले उनलाई पातारासीबाट जुम्ला सदरमुकाम खलंगासम्म ल्यायो ।
त्यहाँ पनि उनले लामो लामो दौड जितेर सुर्खेत हुँदै नेपालगञ्ज टेक्ने अवसर पाइन् । नेपालगञ्ज पनि प्रथम भएर उनी काठमाडौँ आइन् । जुन उनको जीवनको लागि सपना थियो । उनले सपनालाई वास्तविकतामा बदलिइन् ।
उनले १४ वर्षको उमेरमा राष्ट्रपति रनिङ शिल्ड जितिन् । प्रथम भएर उनले नेपालका सबैजसो दौड जितिन् । नेपालका सबै दौड जितेर उनी फेरि जुम्ला फर्किइन् । एसएलसी दिइन् । सफल भइन् । त्यसपछि पढाउने उनका आमाबुवाको हिम्मत थिएन् ।
उनी जिद्दीले जुम्ला सदरमुकाम आएर म्याराथन धावक हरि रोकासँग प्रशिक्षण लिन थालिन् । नेपालको म्याराथन धावकमा कर्णालीका ब्राण्ड रोकाले आफ्नै घरमा राखेर कर्णाली स्पोट्र्स क्लबमै सुनमायालाई प्रशिक्षण सिकाए ।
त्यसमा पनि उनको क्षमताले दौड वा म्याराथन मात्रै होइन, पहाडी क्षेत्रमा कैयौँ दिन दौडेर जित्नुपर्ने अल्ट्रा दौडमा रोकाले सुनमायालाई अघि बढाए । रोकाकै प्रेरणामा सुनमायाले अल्ट्रा दौड दौड्न थालिन् ।
२०७८ पुस पहिलो हप्ता थाइल्यान्डको चाङ माईमा भएको ‘थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा सुनमाया प्रथम भइन् । उनी महिलातर्फ यो प्रतियोगितामा प्रथम भएकी थिइन् । तर पुरुषसहितको समग्र प्रतियोगितामा भने उनले तेस्रो स्थान हासिल गरिन् ।
यो प्रतियोगितामा मीरा राई सुनमाया भन्दा पछि परेकी थिइन् । १ सय १० किलोमिटर अल्ट्रा दौडमा पुरुष तथा महिला गरि समग्रमा सुनमाया तेस्रो भइन् ।
यो प्रतियोगितामा क्रमश प्रथम र तेस्रो भएपछि सुनमायाको चर्चा विश्वभर फैलियो । नेपालबाट अल्ट्रा दौडमा यसअघि मीरा राईको मात्रै नाम सुनिने गरेको थियो । तर थाइल्याण्डमा सुनमायाले उनै मीरालाई समेत पछि पार्दै प्रतियोगिताकै पहिलो स्थान हात पारेकी थिइन् । समग्रमा भने उनी तेस्रो भइन् ।
त्यसअघि ललितपुरको गोदावरीमा भएको एक प्रतियोगितामा सुनमायाले मीरालाई भेटेर उनीबाट धेरै सिक्ने अवसर पाएकी थिइन् । त्यसैको प्रेरणाले उनले मीरालाई नै जित्ने प्रेरणा दियो ।
थाइल्याण्डपछि सुनमायाले विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको १०० किलोमिटर दौडमा रजत जितेकी छन् । यो प्रतियोगिता २०७९ भदौ ११ गते फ्रान्समा भएको थियो । उनले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा फ्रान्सकी ब्लाडिन प्रथम भइन् । तेस्रो स्थानमा अमेरिकाकी अलि हल रहिन् । नेपालबाट यसअघि प्रतिनिधित्व गर्ने मीरालाई जुम्लाकी सुनमायाले नेपालका राष्ट्रिय, एसियाका सबै अल्ट्रा दौड हुँदै विश्व च्याम्पियनमा समेत पछि पारिसकेकी छन् ।
यसअघि नेपालबाट उच्च पहाडी भेगमा दौडिने अल्ट्रामा मीराकै नाम र चर्चा हुने गरेकामा अब कर्णालीबाट सुनमायाको नाम स्वर्ण अक्षरले लेखिएको छ । जुम्लाबाट संघर्ष गर्दै एक समय आफ्नै जीवनको आश मारेकी सुनमाया बुढा अहिले अल्ट्रा दौडमा विश्व जितिरहेकी छन् ।
कर्णालीबाट एक संघर्षशील युवती भएर जसले विश्वमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखिन्, उनी अर्थात जुम्लाकी अल्ट्राधावक सुनमाया बुढालाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७३ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]