सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सीमा दैलेख जिल्लाको गुराँस गाउँपालिका– ५ मा हिजोआज समाजिक परिवर्तनका देखिन थालेको छ ।
गाउँमा रहेको सामाजिक कुरिती अन्त्यका लागि स्थानीय किशोरी सक्रिय बनेका छन् । बालबिवाह, छाउपडी कुप्रथा, अन्धविश्वास र बालश्रम अन्त्यका लागि किशोरीले आफ्ना अविभावक र बालबालिकालाई पढाउन थालेका हुन् । बिदाको दिनमा किशोरीले बालबालिका र अविभावकलाई विद्यालयमा जम्मा गरेर पढाउने गरेका छन् ।
सामाजिक सेवा केन्द्र सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाअन्तर्गत ‘रोजाइ आवाज र प्रतिबद्धता’ कार्यक्रममार्फत किशोरीले गाउँका अभिभावक र बालबालिकालाई जम्मा गरेर सचेतना जगाएका हुन् । उक्त कक्षामा सहभागी भएपछि स्थानीय अभिभावकले उमेर नपुग्दै आफ्ना सन्तानको विवाह नगर्ने कसम खाएका छन् ।
किशोर किशोरीले पनि विवाह गर्ने परिपक्व उमेर नहुँदासम्म विवाह नगर्ने प्रतिबद्धता जनाएको सोसेक नेपालका स्थानीय सहजकर्ता मञ्जु विकले बताइन् । “हामीले पाँच महिनासम्म गाउँका सबै टोलका अभिभावक र बालबालिका सहभागी गराएर सचेतना कक्षा चलायौँ”,सहजकर्ता विकले भनिन्, “कक्षामा बालविवाह गर्दा हुने शारीरिक तथा मानसिक असरबारे जानकारी गरायौँ, कक्षामा सहभागी भएपछि गाउँलेले बालविवाह रोक्ने वाचा गरेका छन् ।”
यस्तै अर्का सहजकर्ता भावना भण्डारीका अनुसार हिजोआज स्थानीयले महिनावारीसमेत बार्न छाडेका छन् । “गाउँमा महिनावारी हुँदा बार्ने चलन थियो”, उनले भने “महिला र किशोरीले महिनावारी हुँदा घरभित्र पस्नै पाउन्नथे तर हामीले सबै अभिभावकलाई यसबारे कक्षामार्फत सचेत गरायौँ सचेतना कक्षाले समाजमा सकारात्मक परिवर्तन देखाप¥र्यो ।” अहिले केहि समयका लागि रोकिएको र सचेतना कक्षाले गाउँमा धेरै परिवर्तन आएको र यसलाई आफूहरुले निरन्तरता दिने किशोरी बताउँछन् ।
स्थानीय किशोरी कमला भण्डारीले यस्ता कक्षा गाउँमा अझै आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन संस्थासँग आग्रह गरिन् । कक्षामा बालबालिकालाई पोषिलो खाना खुवाउनुपर्ने, नियमित विद्यालय पठाउनुपर्ने, काममा लगाउन नहुने, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने र सामाजिक विकृति अन्त्य गर्नुपर्ने विषयमा सचेतीकरण गरिएको थियो । कक्षामा सहभागी भएपछि गुराँस गाउँपालिका–५ स्याँलभैरीकी अविभावक खगिसरा नेपालीले आफूहरुको सोच परिवर्तन भएको बताइन् ।
उनले भनिन् “हाम्रा पालामा बालबालिकालाई स्कुलभन्दा काममा पठाउँथे, सानैमा काममा लाग्दा पढाइ छुट्थ्यो । तर, अहिले आफैँ कक्षामा सहभागी भएपछि बालश्रममा लगाउन नहुने थाहा भयो, अब हामीले पनि आफ्ना बालबालिकालाई नियमित स्कुल पठाउन थालेका छौँ ।”
स्यालभैरीकै अभिभावक महेन्द्र योगीले गाउँका बालबालिका शिक्षित हुँदा आफूहरुमा समेत परिवर्तन आएको बताए ।
उनले भने, “बालबालिका र हामीले सँगै कक्षा लियौँ, यसले एकापसमा कुरा सुन्न र सिक्न पनि सजिलो भयो । बालविवाहले परिवार नै विखण्डन हुने समस्या देखिएको थियो तर, अब बालविवाह हुन नदिन हामी सचेत भएका छौँ ।” योगीले सचेतना कक्षाले गाउँमा धेरै परिवर्तन ल्याएको भन्दै यस्ता कक्षा आगामी दिनमा पनि सञ्चालन गर्नसके सभ्य समाज निर्माण गर्न सकिने बताए ।
‘सेभ द चिल्ड्रेन’को सहयोग र गुराँस गाउँपालिकाको समन्वयमा सोसेक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजना दुईले गाउँपालिकाभर नै बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाका बालसंरक्षण संयोजक निर्मल अधिकारीले ‘रोजाइ आवाज र प्रतिबद्धता’ कार्यक्रममार्फत बालअधिकार संरक्षण र सामाजिक रुपान्तरणमा सहयोग पुगेको बताए ।
“हामीले परियोजनामार्फत बालअधिकार सुनिश्चितताका लागि उल्लेख्य काम भएका छन”, उनले भने, “सचेतना कक्षाबाट उमेर पुगेर मात्रै विवाह गर्नुपर्ने रहेछ, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने रहेछ महिनावारी भएको बेला अन्य बेलाभन्दा धेरै हेरचाह गर्नुपर्ने रहेछ भनेर अभिभावक र बालबालिका सचेत हुनुभएको छ ।”
उनले यो कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउने भन्दै कार्यक्रम सञ्चालन नभएको टोल र समुदाय यो कार्यक्रम लागू हुने अधिकारीले बताए । रासस