ढोरपाटन : जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।
विसं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण गर्यो । धेरैले घरसहित लालपुर्जा पाए । तर अझै केही परिवारले पाउन सकेका छैनन् ।
माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन्, तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्छन्, “चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउनुहुन्छ, चुनाव जितेपछि एकपटक पनि हाम्रो बस्तीमा आउनु हुन्न, काम पनि खासै केही गर्न सक्नु भएन, हाम्रो बस्तीमा धेरै समस्या छन् ।”
उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उहाँ वर्षौँ बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्णरूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउँछन् ।