काठमाडौँ : सामान्यज्ञानमा कालिकोट नेपालको कान्छो जिल्ला हो । जुन अब किंवदंन्ती बनिसकेको छ । संघीयतापछि कान्छो जिल्लाको नाम अरु जिल्लाले लिइसकेका छन् । तर नेपालकै यो कान्छो जिल्ला भने कर्णालीको शासकीय स्वरुपमा पहिलो हो ।
त्यसैले कर्णालीको एउटा विचित्र कीर्तिमान तोड्न कालिकोट धेरै सक्षम भैसक्यो । कर्णालीमा पहिलो मुख्यमन्त्री पाउने भाग्यमानी जिल्ला कालिकोट हो । अनि कालिकोटबाट कर्णालीको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाएका महेन्द्रबहादुर शाही यतिबेला कर्णालीको लागि होइन, संघीय सांसद बन्न चुनावी मैदानमा छन् ।
माओवादी केन्द्रबाट कालिकोटका एकल तथा साझा उम्मेद्वार रहेका शाही प्रतिनिधिसभामा दोस्रोपटक प्रवेश गर्ने तयारीमा छन् । तर यतिबेला उनलाई पहिलेको जस्तो सजिलो भने छैन । कालिकोट एक मात्रै संघीय संसद्का लागि निर्वाचन क्षेत्र हुँदा त्यसका साझा उम्मेद्वार बन्न महेन्द्र शाही सफल भए ।
यसका लागि उनले भागबण्डा टुंगिनुअघि नै दलबलसहित खुमलटार पुगेर प्रचण्डलाई कालिकोट माओवादीले राख्नुपर्ने अडान लिएका थिए । माओवादीलाई टिकट दिए मात्रै कालिकोट जित्न सकिने भन्दै उनले राखेको अडान प्रचण्डले सत्ता गठबन्धनबाट अनुमोदन गराए । परिणामस्वरुप कांग्रेसका युवा नेताहरुले पहल गर्दा पनि कालिकोटबाट महेन्द्र शाहीको साझा उम्मेद्वारी परेको हो ।
यतिबेला उनको प्रतिष्पर्धा एमालेका उम्मेद्वार नगिन्द्र शाहीसँग छ । तर त्यो भन्दा बढी स्वतन्त्र उम्मेद्वारी दिएका काशिचन्द्र बराल उनका लागि चुनौति देखिन्छन् । एकातिर स्वतन्त्र उम्मेद्वारी अर्कोतिर प्रतिपक्षी भएका बेला सत्ता गठबन्धनका उम्मेद्वार शाहीलाई चुनौतिका बीच चुनाव जित्ने अवसर छ ।
तर उनलाई यतिबेला भनेजस्तो सहज भने छैन । किनकी कांग्रेस र समाजवादीका समेत साझा उम्मेद्वार रहेका शाहीले कांग्रेसकै नेता कार्यकर्ताको मन जित्न सकेका छैनन् । त्यसमाथि समाजवादीले पनि खुलेर साथ सहयोग दिनेमा आशंका छ । यद्यपी यसअघि नै संघीय सरकारमा मन्त्री र कर्णालीको पहिलो मुख्यमन्त्री भएका कारण उनीप्रति सबैको सहानुभूति छ।
कर्णालीको पहिलो मुख्यमन्त्री हुँदा आवश्यक विकास निर्माणका काम गर्न नसकेको भन्दै शाहीप्रति आक्रोश छ । कांग्रेस र समाजवादीको समर्थन पनि थोरै छ । केही आन्तरिक र केही बाह्य कारणले उनीप्रति पहिलेको जस्तो माहोल र सरासर भोट हाल्ने अवस्था छैन ।
यद्यपी यी चुनौति चिरेर अगाडि बढेमा तुलनात्मक रुपमा प्रतिपक्षी भन्दा सत्ता गठबन्धनकै उम्मेद्वारलाई सहजता छ ।