सुर्खेत : कर्णाली प्रदेशको राजधानीसहित सुर्खेतसहित सबै जिल्लामा चुनावी माहोल तातेको छ । शुक्रबारदेखि दलहरुले खुलेर प्रचार प्रचार गर्न पाउने भएपछि राजनीतिक रुपमा चुनावी माहोल तातेको हो ।
यतिबेला कर्णालीका सबैजसो जिल्लामा राजनीतिक दलका नेताहरु घर घर पुगेर भोट मागिरहेका छन् । भोट माग्दा नेताहरु विकासे प्रतिबद्धता जनाइरहेका छन् । कर्णालीमा संघीयता आएपनि नागरिकको जनजीवन भने परिवर्तन भएको छैन ।
उनीहरु घरदैलो गर्दै भोट मागिरहेका दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यसले कर्णालीमा चुनावी माहोल मात्रै होइन मंसिर ४ वार अथवा पारको अवस्था आएको छ । सत्ता गठबन्धनमा माओवादी र कांग्रेस रहेकाले यतिबेला कर्णालीमा पनि एमालेका उम्मेद्वारलाई चुनाव जित्न धेरै गाह्रो छ ।
को नेता कहाँ छन् ?
कर्णालीमा यतिबेला नेपाली कांग्रेसका शीर्ष नेता पूर्णबहादुर खड्का, हृदयराम थानी, माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा, शक्ति बस्नेत, महेन्द्रबहादुर शाही भोट माग्दै हिडेका छन् ।
यस्तै एमाले नेता यामलाल कँडेल, गुलावजंग शाह, नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वाला लगायतका नेताहरु यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा भोट मागिरहेका छन् ।
कांग्रेसका नेताहरु पूर्णबहादुर खड्का र हृद्यराम थानी सुर्खेतमा छन् । खड्का सुर्खेत क्षेत्र नं. १ का उम्मेद्वार हुन् । थानी सुर्खेत क्ष्ोत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वार हुन् । जनार्दन शर्मा रुकुम पश्चिमबाट चुनावी माहोलमा होमिएका छन् । उनी रुकुम पश्चिमका प्रतिनिधिसभा उम्मेद्वार हुन् ।
शक्ति बस्नेत जाजरकोटबाट चुनाव लडिरहेका छन् । कांग्रेस नेता राजीवविक्रम शाह पनि प्रदेशसभा उम्मेद्वार बनेर जाजरकोटमा छन् । नेकपा एकिकृत समाजवादकिा नेता प्रकाश ज्वाला सल्यान केन्द्रित छन् । एमालेबाट फुटेर बनेको पार्टी भएका कारण उनलाई जटिल छ । सोही कारण उनी रात दिन नभनी चुनावी मैदानमा होमिएका छन् ।
कर्णालीका मुख्यमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही हुम्ला छन् । उनी झण्डै दुई हप्ताजति हुम्लामा केन्द्रित भएर भोट मागिरहेका छन् । चुनाव जितेपछि उनी फेरि कर्णालीकै मुख्यमन्त्री हुने सम्भावना धेरै छ । एमाले नेता यामलाल कँडेल भने सुर्खेतमा भोट मागिरहेका छन् । उनको वीरेन्द्रनगर भोट माग्ने अभियान केन्द्रित छ ।
कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र शाही कालिकोटमा भोट मागिरहेका छन् । घरदैलो र चुनावी सभा गरिरहेका उनले पनि गठबन्धनबाट चुनाव जित्ने सम्भावना बलियो रहेको बताइरहेका छन् । कर्णालीमा भावी मुख्यमन्त्रीका रुपमा हेरिएका माओवादी नेता बिन्दमान बिष्ट सुर्खेत क्षेत्र नं. २ (ख) मा भोट मागिरहेका छन् ।
नेताहरु वर्षौपछि फेरि घरदैलोमा भोट माग्न पुगेपछि जनता केही आशामा छन् । तर त्यो भन्दा बढी निराशामा छन् । नेताहरु गाउँ पसेपनि गाउँका धेरैजसो युवा तथा वयस्कहरु रोजगारीका लागि भारत तथा खाडीमा छन् ।
यसपटक राजनीतिक दलका नेताहरुबाट जनता आजित भएको भन्दै केही स्वतन्त्र उम्मेद्वार पनि चुनावी मैदानमा छन् ।