कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।
बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन् । कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ ।
“विगतमा मौखिक प्रतिबद्धता जित्ने, हार्ने सबै उम्मेदवारले गरे”, बाढी प्रभावित परिवारका लक्ष्मण रानाले भने, “चुनावपछि कोही फर्केनन्, त्यसैले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ ।” अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार नपुगेको उनले बताए ।
“उम्मेदवार कबुलियतनामाप्रति सकारात्मक भइ हस्ताक्षर गरेमा मात्रै मत हाल्नका लागि जान्छौँ”, सेन रानाले भने, “उम्मेदवारले यसप्रति उदासिनता देखाए मत हाल्दैनौँ ।”
“दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्तीहरु तिल्की, दुवाहा, आमघाट, दम्मलपट्टी, अग्लीपट्टी, बडवैका र कटान जोगाउनका लागि महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमगत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाइ कार्य गर्न प्रतिबद्ध छौँ”, बाढीपीडित सङ्घर्ष समितिले उम्मेदवारका लागि तयार गरेको कबुलियतनामामा भनिएको छ, “यो कार्य गर्न नसकेमा तीन वर्षभित्र जनप्रतिनिधि पदबाट राजीनामा दिने छौँ ।”
बाढी प्रभावित क्षेत्रलाई बाढीजन्य विपद् सङ्कट क्षेत्र मन्त्रिपरिषद्बाट घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ । “वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी प्रभावित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामामा उल्लेख गरेका छौँ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, “निर्वाचनका बेला मत माग्नका लागि आएझैँ हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासो र समस्या सुन्नका लागि बाढी प्रभावितको बस्तीमा पुग्नुपर्ने छ ।” रासस