काठमाडौँ : नेकपा एमालेबाट कर्णालीका शीर्षस्थ नेता मानिने यामलाल कँडेका लागि यसपटकको चुनावमा चुनौति धेरै छ । पाँच वर्षको प्रचण्ड बहुमत खेर फालेर मुख्यमन्त्री नसकेका यामलाल यसपटक मुख्यमन्त्री बन्ने लक्ष्यसहित फेरि चुनावमा होमिएका छन् ।
उनी चुनावमा होमिदा उनीप्रति धेरैको सहानुभूति छ । खासगरि एमाले र केही मसिनो गरि समाजवादीको पनि । तर स्थानीय तहको चुनावमा कांग्रेसको भोटले मेयर जितेपनि यसपटक कांग्रेस आपसमा बलियो रहेका कारण यामलाललाई चुनाव जित्न फलामकै चिउरा चपाएसरह छ ।
२०७० सालको चुनावमा हारेका उनी २०७४ सालको चुनावमा माओवादीको समर्थनले स्वतः जितेका थिए । तर यसपटक माओवादी र कांग्रेस दुवै यामलालको साथमा छैनन् । केन्द्रमा प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले दुई पटक संसद् विघटन भएका कारण एमालेप्रति आम नागरिकको आक्रोश छ ।
त्यति मात्रै होइन, कर्णालीमा यामलालकै बहुमतको घमण्डका कारण फ्लोर क्रस भएको थियो । एमाले विभाजनको सुरुवात कर्णालीबाटै भएको थियो । यसले गर्दा पनि यतिबेला एमालेकै रहेका नेता कार्यकर्ता नेतृत्वका रुपमा यामलालले गरेका कतिपय निर्णयबाट खुशी नभएका हुन सक्छन् ।
जसको आक्रोश चुनावमा देखिने सम्भावना प्रवल छ । यसपटक सत्ता गठबन्धनसँगको लडाई यामलाललाई चर्को हुन सक्छ । वीरेन्द्रनगर बजारमा कांग्रेस शक्तिशाली छ । एमाले त्यति धेरै बलशाली छैन ।
कांग्रेसकै भोट क्रस हुँदा एमालेले वीरेन्द्रनगरमा जित्ने गरेको छ । तर यसपटक कांग्रेस र एमाले दुवैको भोट क्रस हुने सम्भावना कम छ । त्यसमाथि थोरै भएपनि प्रभाव रहेको राप्रपाको भोट मात्रै एमालेलाई जान सक्छ । जसले यामलालको जित सुनिश्चित गराउन सक्दैन ।
गएको पाँच वर्षमा प्रचण्ड बहुमत हँुदा केन्द्रकै भागबण्डाले कर्णालीमा एमालेले सरकार बनाउन सकेन । माओवादीले पाएको भागबण्डाका कारण महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । यामलाल पछि परे । उनले शाही मुख्यमन्त्री हुँदा उनको सरकार ढालेर आफुले सरकार बनाउने कोसिस नगरेका होइनन् ।
तर आधा दर्जन बढी उनका सबैजसो प्रयास असफल भए । अन्तिम समयमा माओवादीको सरकार ढाल्न सफल भएका यामलाल आफू मुख्यमन्त्री हुने बेलामा भने एमालेकै तत्कालीन सांसद प्रकाश ज्वाला लगायत चार जनाले फ्लोर क्रस गरेका थिए । जसकारण यामलाल चाहेर पनि मुख्यमन्त्री हुन सकेनन् ।
कर्णालीको पहिलो प्रदेश सरकारमा सदाबहार प्रतिपक्ष बनेका यामलाल यसपटक प्रदेशको चुनाव जिते मुख्यमन्त्री बन्ने सम्भावना भएका नेता हुन् । तर माओवादी र कांग्रेस मिलेका कारण उनलाई चुनाव जित्नै हम्मेहम्मे छ । त्यसमाथि ओलीे आफैले सुर्खेत पुगेर यामलालको पक्षमा भोट माग्न सकिरहेका छैनन् ।
ओलीप्रति अहिले जनता र खासगरि पार्टी कार्यकर्तामा तीव्र आक्रोश छ । यसले गर्दा यामलाललाई व्यक्तिगत रुपमा धेरै धक्का पुग्ने आँकलन गरिएको छ । यद्यपी सुर्खेतमा समाजवादीकै केही नेता कार्यकर्ताले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दर्ता गरेकाले यसको सिधा फाइदा यामलाल लगायत एमाले उम्मेद्वारलाई पर्ने अनुमान पनि छ ।