सुर्खेतको चिङ्गाड गाउँपालिका–३, मटेलामा बाटो बिग्रदा स्टेचरमा बिरामी अस्पताल लैजाँदै स्थानीयबासी । फोटो : सुरेश आचार्य/रासस
सुर्खेत : कर्णालीको राजधानी सुर्खेत भएर होला, धेरैले सुर्खेतलाई विकसित र पूर्वाधारले भरिपूर्ण मान्छन् । तर यो सुर्खेतकै लागि गलत भाष्य हो । सुर्खेत पनि कर्णालीका हिमाली र पहाडी जिल्लाजस्तै विकट अवस्था धेरै ठाउँमा छ ।
पश्चिम सुर्खेत अहिले मात्रै बल्ल बल्ल गाडी पुगेको छ । त्यो पनि वर्षामा भने हालत खराब नै हुन्छ । सुर्खेतको पूर्वी क्षेत्र भने केही सुगम छ । तर सुगम भनिएको पूर्वी सुर्खेतको मटेलाको ताजा तस्बिर बाहिर आएको छ ।
राससका सुर्खेत संवाददाता सुरेश आचार्यले कैद गरेको तस्बिरले देखाउँछ, कांग्रेसका उपसभापति, कर्णालीका शीर्ष नेता तथा यो चुनावमा प्रतिनिधिसभाका उम्मेद्वार पूर्णबहादुर खड्काकै क्षेत्रमा अहिले स्वास्थ्य पूर्वाधारको अवस्था नाजुक छ । जहाँ यतिबेला स्थानीय बिरामी भएपछि स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।
गएको असोजमा आएको बाढी एवं पहिरोले गर्दा भत्केको बाटो अझै नबनेर कर्णालीका धेरै जिल्लाको अवस्था यतिबेला नाजुक छ । नेताहरु चुनाव प्रचारमा व्यस्त हुँदा सर्वसाधारणलाई चाहिने आधारभूत आवश्यकताको परिपूर्ति गर्ने पूर्वाधार विकराल अवस्थामा छन् ।
एकातिर शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ भने अर्कातिर सुशासन छैन । भ्रष्टाचार व्याप्त छ । देशमा कँही पनि पद्धती लागू छैन । केवल हल्ला र भनसुन मात्रै हावी छ । यस्तो अवस्थामा चुनावकै बेला सार्वजनिक तस्बिरले नेताहरुले विकास चाँही कति गरेका रहेछन् भन्ने पनि छर्लंग देखाउँछ ।