सल्यान : यसपटकको चुनावमा कर्णालीमा सल्यान पनि एक रोचक क्षेत्रका रुपमा परिचित छ । किनभने सल्यानका सांसद तथा पूर्वमन्त्री प्रकाश ज्वालाले एमाले विभाजन गर्ने औपचारिक कदमको थालनी गरेका थिए । अन्याय नसहने र विद्रोह गरिहाल्ने स्वभागका नेता ज्वाला माधव नेपालका विश्वासपात्र हुन् ।
माधव नेपालकै योजना र सल्लाहमा उनले कर्णालीमा 'फ्लोर क्रस'को नेतृत्व गरेका थिए । तत्कालीन एमाले पार्टी छाडेर उनले माओवादीका मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगाएका थिए । जसले पछि एमाले विभाजन गर्न निर्णायक भूमिका खेल्यो ।
एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टी गठन गर्नुमा ज्वालाको ठूलो भूमिका छ । एमालेमा छँदा एमालेकै गढ बनाएका प्रकाश ज्वालाले अहिले सत्ता गठबन्धनका तर्फबाट एमालेसँग चर्को प्रतिष्पर्धा गर्नुपर्ने चुनौति छ । जुन उनका लागि अग्निपरीक्षा हो ।
सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वाला छन् भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ ।
स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेसको ३३ हजार छ सय १६, मओवादी २६ हजार सात सय १३, एमालेको २६ हजार छ सय २८ र नेकपा एकीकृत समाजवादीको नौ हजार चार सय ६७ मत छ । एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन् ।
विसंं २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गरेका उनले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गरेका छन् । उनले भने, “सल्यानको विकास र समृद्धिका लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो ।”
एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गरेका छन् ।
तर सल्यानमा अहिले नै जित कसको हुन्छ भन्नेमा अन्यौल छ । किनभने सत्ता गठबन्धनभित्रैका पार्टीबाट वागी उम्मेद्वारी छ । यसले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेद्वारलाई जित्न बागीको चिन्ता छ ।
सल्यान प्रदेश १ मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रबाट भीमप्रकाश शर्मा र एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन् । उनले एक्लै जित्न सक्ने अवस्था हुँदै गर्दा गठबन्धन जोडिएपछि आफ्नो जित सुनिश्चित भएको बताए । यद्यपि गिरीले गठबन्धनको हाउगुजी भ्रममात्र भएकाले जित आफ्नो हात पर्ने तर्क गरेका छन् ।
प्रदेश २ क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजङ्ग शाहले टक्कर दिइरहेका छन् । उनी विसं २०७४ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।
यद्यपि कांग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जिन सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौती बढेको छ । त्यसको फाइदा लिएर आफू जित्ने दाउमा भने एमाले छ ।
सल्यान १ क्षेत्रमा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन् । त्यस्तै २ क्षेत्रमा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १–१३ र वनगाड–कुपिण्डे नगरपालिकाका ९–१२ वडा पर्दछन् । राससको सहयोगमा