सुर्खेत : प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आइतबार हुँदैछ । निर्वाचन मिति नजिकिदै गर्दा निर्वाचनमा अधिकांश महिला, ज्येष्ठ नागरिक, मानसिक रोगी लगायतका नागरिक मतदान गर्नबाट बञ्चित छन् ।
उनीहरुध्य कसैको मतदाता नामावलीमा नाम समावेश छैन भने कतिपयको मतदातामा नामावली भएर पनि मतदान गर्नबाट बञ्चित हुनुपरेको छ । कतिपय ज्येष्ठ नागरिक, महिला र अपाङ्गले आफ्नो मतदाता नामावलीमा नाम भएर पनि आफुलाई हाल्न नदिएर आफन्तजन र राजनीतिक दलका प्रतिनिधिले उनीहरुको इच्छा विपरित मतदान गर्नेगरेको उदाहरण छन् ।
कतिपय नागरिकले जन्मेदेखि अहिलेसम्म कुनै पनि चुनावमा मतदान गर्न नपाएका उदाहरण छन् । त्यस मध्यकै एक हुन् । सल्यानकि बिमला थापा । उमेरले ३५ वर्षकि भइन् । उनको मतदाता नामावली छैन । उनी एक मानसिक रोगी हुन् मानवसेवा आश्रम सुर्खेतमा बस्दै आएकि छन् । उनको मानसिक स्वास्थ्यमा पनि सुधार आउदै गएको उनी बताउँछिन् ।
अहिलेसम्म कुनै पनि निर्वाचनमा मतदान गर्ने अवसर पाएकि छैन,’उनले भनिन्, ‘विगत दश वर्ष देखि मानसिक रोगी थिएँ । अहिले मानवसेवा आश्रम सुर्खेतमा छु । मेरो मानसिक स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । सरकारले मतदान गर्ने व्यवस्था गरिदिए पहिलो भोट हाल्ने इच्छा थियो ।’
त्यस्तै दैलेखका मिन बहादुर ६० वर्षको भए । पहिले आर्मिमा कार्यरत उनी जागिर गर्दा गर्दै मानसिक रोगले च्याप्यो । मानिसिक रोगि भएपछि स्थानीय प्रशासनको रोहवरमा मानवसेवा सुर्खेतले उद्धार गरेर सुर्खेत ल्याएपछि उनको मानसिक स्वास्थ्यमा सुधार आउन थालेको छ । निर्वाचनमा २० वर्ष अघि एकपटक मात्र मतदान गर्न पाएको उनी बताउँछन्् ।
२० वर्ष अघि मतदान गरेको थाह छ,’उनले भने, ‘त्यसपछि हालेको छैन । मतदान गर्ने अवसर पाए फेरी मतदान गर्ने इच्छा छ ।’ मानव सेवा आश्रम सुर्खेतमा ७४ जनाको बसोबास छ । आश्रममा बस्ने ७४ जनाको नै नामावली नभएको मानवसेवा आश्रम सुर्खेतकि प्रदेश संयोजक सिर्जना गौतम बताउँछिन् ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ ले वीरेन्द्रनगर स्थित प्रशान्ती वृद्धाश्रममा आश्रय लिइरहेका वृद्ध–वृद्धालाई छोएन । यहाँ आश्रित ज्येष्ठ नागरिकले निर्वाचनमा मतदान गरेनन्न । आश्रममा हाल २६ जना वृद्ध वृद्धाले आश्रय लिइरहेका छन ।
जसमध्ये ११ जना महिला र १५ जना पुरुष छन । उनीहरू मध्य केहीले यस अघि नै मतदाता परिचय पत्र समेत बनाएका थिए । वीरेन्द्रनगरबाटै मतदान गर्न पाउने अधिकार भएकाले समेत यस अघि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदान गरेनन ।
हालको समयमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आश्रममा कुनै उत्साह समेत छैन । अहिले आफैसँग नागरिकता साथमा राखेका तथा यसअघि मतदान नामावलीमा नाम समावेश भएका मतदाताहरू समेत आश्रममा नभएका होइनन । कुल २६ जना मध्य ६ जनासँग नागरिकता नै छैन । सातजनाको मतदाता नामावलीमा समेत समावेश भएका छन । तर पनि मतदान गर्न पाएका छैनन् ।
महिला र ज्येष्ठ नागरिक मतदान गर्न पाउदैनन्
चामुण्डावीन्दासैनी नगरपालिका –८ कि खगिसरा दमाईले आफैले भोट हाल्ने अवसर कहिलेही पाइनन् । पहिले हाल्न नजानेर र अहिले बुढेसकाल लागेर चुनावमा भोट खेर जान्छ भनेर अरुले नै हाल्दिन्छन् ।
चुनावमा आफुलाई मन परेको नेतालाई भोट हाल्न इच्छा त हुन्छ,’उनले भनिन्, ‘चुनावमा भोट हाल्न मन भएता पनि छोरा नातीले भोट बिग्रिन्छ भनेर हाल्न दिदैनन् । आफैले हाल्छन् । हाम्रा टोलभरिमा सबैले यस्तै गछौँ ।’
महाबु गाउँपालिका वडा नम्बर २ बडाखोलाकी जैकला सुनारले पनि आफ्नो भोट आफै हाल्न पाउदिनन् । उनी ७१ वर्षकी भइन् । श्रीमान बितेको २९ वर्ष भयो । एटा चुनावमा उनका श्रीमानले हालेका थिए ।
त्यसभन्दा करिब ६–७ वटा चुनाव भए तर पनि उनी आफैले भोट हाल्ने मौका कहिलेही पाइनन् । भोट हाल्न मन लाग्छ बिगाछौँ भन्छन् मत पत्र छोराहरुले नै लिन्छन् र भोट पनि छोराहरुले नै हाल्ने गरेको उनी बताउँछिन् ।
महिलाले भोट हाल्न जान्दैनन् बदर हुन सक्छ भन्ने सोचाइले अरुले नै भोट हाल्ने चलन छ । कतिपय महिला तथा वृद्ध पुरुषले आफै पनि भोट हाल्न अघि सर्दैनन् । महिलाहरुले भोट हाल्न सक्दैनन् र बदर हुन्छ भन्ने सोचाइले छोछारी नै भोट हाल्न तम्सििन्छन् । महिलाहरुले आफ्नो भोट आफै हाल्न सक्छु भन्नुपर्ने वा घर सल्लाह गरेर कस्लाई हाल्ने भन्ने विषयमा छलफल गरेरमात्र भोट हाल्नुपर्ने सामाजिक सेवा केन्द्र सोसेक नेपालकि सहायक कार्यक्रम निर्देशक दुर्गा गिरि बताउँछिन् ।
यी त केही प्रतिनिधिमुलक पात्र तथा प्रवृत्ति मात्रै हुन् । कर्णालीका धेरै निर्वाचन क्षेत्रमा अधिकांश बुढाबुढी, गरिब, असहाय र अपांगता भएका व्यक्तिको भोट कार्ड नै राजनीतिक दलका नेता कार्यकर्ताले कब्जा गर्ने गरेका छन् ।
महिलाले जस्तै अधिकांश ज्येष्ठ नागरिकले पनि आफ्नो भोट आफै हाल्न पाएका छैनन् । ज्येष्ठ नागरिकलाई पनि आफै मत हाल्न सक्षम बनाउनुपर्ने ज्येष्ठ नागरिक संघ दुल्लु नगरपालिका संघका अध्यक्ष कृष्ण भण्डारीको भनाई छ ।
ज्येष्ठ नागरिकहरुको आफ्नो इतिहास परिपक्व हुँदै आएको भए पनि छोराछोरीले आफ्नो इच्छा अनुसार अर्को ठाउँमा प्रयोग गरेको अवस्था छ,’उनले भने,’जयेष्ठ नागरिकले स्वतन्त्रतापुर्वक मतदान गर्न पाउने अधिकारको दुरुपयोग भएको छ । हरे ज्येष्ठ नागरिकले आफ्नो भोट आफै हाल्न पाउने बाताबरण बनाउन निर्देशन छ ।’
महिला तथा ज्येष्ठ नागकको भोट परिवार तथा राजनितिक दलका प्रतिनिधिले भोट हाल्ने प्रवृतिको अन्त्य गर्न मतदाता शिक्षा प्रभावकारी बनाउने योजना छ । मतादाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने जिल्ला स्तरीय मतदाता संयोजक दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल बताउँछन् ।