सुर्खेत : कर्णालीमा प्रख्यात रहेका बालरोग विशेषज्ञ डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् ।
पुस्तकको डा. केसीका आमा टीका केसी, सामाजिक अभियान्ता तथा लेखिका राधा पौडेल र सीएनएन हिरो म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरेका छन् । सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गरिन् ।
सिएनएन हिरो डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा. केसीले शब्द–चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ्ग भएको बताइन् ।
पुस्तकका लेखक डा. केसीले पुस्तकमा कर्णालीका आमाले गुमनाम भएर सन्तानका लागि गरेको सङ्घर्ष, सामाजिक विभेदभित्र लुकेको अन्तर्यको लडाइँ र डोको बोक्नेहरूबाट सिकेको ‘जीवनवारिधि’का बारेमा लेखिएको बताए । “टाइ लगाएरमात्र होइन, डोको बोकेर पनि प्राध्यापकहरू आउँदा रहेछन्, जो मैले कर्णालीमा पाएँ”, उनले भने ।
लेखिका आनविका गिरीले पुस्तकमा लेखिएका कुराले जीवनभरि छाप लागेको प्रतिक्रिया दिएकी थिइन् । पुस्तक विमोचन कार्यक्रममा अमेरिकी लेखक तथा कला साहित्य विज्ञ माइकल हर्ट, कर्णालीका कलाकार, पत्रकार, अभियान्ता लगायतको उपस्थिती रहेको थियो ।
कर्णालीमा डाक्टर भएर पनि पूस्तक लेख्ने डा.केसी पहिलो चिकित्सक हुन् । उनी लेखक, अभियान्ता, संरक्षणकर्मी तथा समाजसेवीका रुपमा पनि परिचित छन् ।