१६ चैत, काठमाडौँ । नेपालमा जातप्रथालाई मलजल गर्ने काम राणाबाट भयो । जातप्रथाको उत्पति राजाहरुबाटै भएपनि जात जातीबीच फाटो ल्याएर शासन चलाउने काम जंगबहादुर राणाबाट भएको हो ।
जसले गर्दा बेलायती मोडल पछ्याएर जंगबहादुरको राणा शासनले नेपालमा १०४ वर्ष शासन टिकायो । त्यसयता नेपालमा धेरै परिवर्तन भयो । जंगबहादुरको हुकुमी शैलीको शासन पत्तासाफ नै भयो । अहिले यदाकदा केही ठाउँ जंगे शैलीको शासन देखिन्छ । बाँकी त धेरै कुरा सुधार पनि भयो । किनकी नेपाल संघीय गणतान्त्रिक देश बनिसकेको छ ।
तर तितो यतार्थ, नेपालमा जातीय छुवाछुत ज्यूँका त्युँ छ । यो सामान्य विषय होइन् । राजा रजौटाका पालामा सुरु भएको सती प्रथा राणा शासकले हटाए । तर शतीप्रथाभन्दा क्रुर जातीय विभेद अहिले पनि उस्तै छ । जातीय विभेदको बर्बरता हेर्ने हो भने सबैभन्दा धेरै कर्णालीमा छ । छोराले अन्तरजातीय विभेदका कारण खुकुरीको प्रहारबाट ज्यान गुमाएका सेते दमाईदेखि जाजरकोटका नवराज विक लगायत ६ जना युवासम्म छन ।
यति मात्रै होइन, कालिकोटकी मना सार्की, कालिकोटकै मनवीर सुनारले जातीय विभेदका कारण ज्यान गुमाउनु परेको थियो । दलितमाथि बर्बर हत्या हुँदा पनि सम्बन्धित निकाय र दलित नेताहरु भने कानमा तेल हालेर बसेका छन् । दलितमाथि सबैभन्दा बढी विभेद त दलित नेताहरुबाट भइरहेको छ । उनीहरुले आफ्नो स्वार्थका लागि नेताहरुलाई खुशी पार्ने काम त गरेका छन् । तर दलित गरीबका लागि केही गर्न सकेनन् ।
अरु जस्तै दलित समूदायले पनि प्रजातन्त्र ल्याउँदादेखि गणतन्त्र आउँदासम्म रगत बगाएका छन् । बलिदानी दिएका छन् । तर पनि दलित समूदायका समस्या न राज्यले सुन्छ । न त राजनीतिक दलका नेताहरुले । अहिले त आफ्नै दलित समुदायका नेताहरु पनि भीडभाडमा हराउने गरेका छन् ।
स्वार्थ मिलेका सबै आफ्नो पक्षमा लाग्ने । तर स्वार्थ नमिल्ने बित्तिकै दलितहरु मारिदा समेत कसैले बोल्दैन् । कर्णालीको सबैभन्दा ठूलो बिडम्बना त अहिलेसम्म त्यसबारेमा बहस नै भएको छैन । सेते दमाई, मनवीर सुनार, मना सार्की, नवराज विक लगायत मारिदा समेत कर्णालीमा जातीय विभेदको बहहस सिर्जना भएको छैन् । यसबारेमा कसैले खुलेर पनि बहस गर्न सकेका छैनन् । जब सामाजिक मुद्दामा बहस गर्न मिडिया र पत्रकार भने तर्सिने गरेका छन् ।
देशभर दलितहरुको संख्या बढी भएको प्रदेश कर्णालीमा हो । तर उनीहरु सधै भोटबैंक मात्रै रहे । उनीहरुका समस्या राज्यले कहिल्यै बुझेन् । समस्या नबुझ्दा कर्णालीका दलित समूदाय आक्रोशित मात्रै छैनन् । विभेदको मारमा खेपिदा चिन्तित पनि छन् ।