नाम : कमल लम्साल
पद : उपप्राध्यापक तथा संस्थापक, कर्णाली उत्सव
पेशा : पत्रकारिता तथा अभियान्ता
कर्णाली व्यक्तित्व नं. : ७२
काठमाडौँ : नेपालको सन्दर्भमा सबैभन्दा धेरै भनिने कुरा हो, व्यवस्था बदलियो, अवस्था बदलिएन । कर्णालीमा ठीक यस्तै अवस्था छ । संघीयताले देशभर परिवर्तन र पहुँचको सञ्चार गराएका बेला कर्णालीमा अझै पनि परिवर्तन धेरै परको विषय हो भनेर सोच्ने गरिन्छ । किनकी कर्णालीमा भौगोलिकताले पहुँच र परिवर्तनलाई कठिन बनाएको छर्लंग छ ।
तर विचारका हिसााबले कर्णाली धेरै अब्बल र उर्वर भूमि हो । किनकी कर्णालीसँग नेपाल राज्य स्थापनाको पहिलो शक्तिशाली शासकीय स्वरुप भएको सिँजा सभ्यता छ । अनि नेपाली भाषाको उद्गम थलो पनि कर्णालीमै छ । त्यो हो, सिँजा । जुन खस राज्यको उद्गम थलो हो ।
प्राकृतिक स्रोत र संस्कृतिले भरिपूर्ण भएपनि कर्णालीमा त्यसको मन्थन गर्ने काम भएको थिएन । जुन पहिलोपटक कर्णाली उत्सवले गरेको हो । कर्णालीको विचार, बहस र विविधताको एउटै मञ्चबाट उत्खनन् गर्ने महत्वपूर्ण कामको सुरुवात गर्ने व्यक्ति हुन्, कमल लम्साल ।
पत्रकारिता पृष्ठभूमिबाट उदाएका उनी अहिले प्राध्यापन पेशामा पनि छन् । मध्यपश्चिम विश्वविद्यालयमा उपप्राध्यापक रहेका लम्साल ऋति फाउण्डेसनका प्रमुख हुन् । ऋति फाउण्डेसनकै आयोजनामा २०७६ सालदेखि सुर्खेतको बुलबुले ताल परिसरमा कर्णाली उत्सव आयोजना हुँदै आएको छ । जसले सफलतापूर्वक तेस्रो संस्करण पूरा गरिसकेको छ ।
उत्सवले नै पहिलोपटक कर्णालीमा सिँजा राज्यको सभ्यताका विषयमा बहस गर्नेदेखि नेपाली भाषाको मूल भाषा खस भाषाबारे पनि सार्वजनिक बहस गरेको थियो ।
त्यसबाहेक सबैभन्दा महत्वपूर्ण कुरा कर्णाली उत्सवले स्पष्ट रुपमा ‘कुडा कर्णालीका’ स्लोगान राखेर खस भाषालाई नै मुख्य प्राथमिकता दिएर प्रवद्र्धन गरेको छ । कर्णालीको भाषा, भेषभुषा र भाकालाई उच्च प्राथमिकता दिएर प्रवद्र्धन गर्ने काम सबैभन्दा ठूलो मञ्चमा कर्णाली उत्सवले गरिरहेको छ ।
सरकारी छाडेर गैरसरकारी पहल तथा प्रयासमा कर्णालीमा अहिलेसम्मकै ठूलो र वर्षेनी हुने विचार मन्थनलाई निरन्तरता दिनू नै कर्णाली उत्सवको मूल उद्धेश्य हो । जसले कर्णाली चिन्न, चिनाउन र निरन्तर चिनाइरहन ठूलो भूमिका खेलेको छ ।
कर्णाली उत्सवका कोरियोग्राफरमा कमल लम्सालसँगै केवल भण्डारी, माधव चौलागाइँ, टीकाराम यात्री, प्रकाश लामिछाने, दिनेश गौतम लगायत युवाको पनि ठूलो भूमिका छ । तर यसको सुरुवात र नेतृत्व गर्ने लम्सालको सोच, साहस र नेतृत्व अद्भुत छ ।
यसले राज्यको दृष्टान्तमा नदेखिएको कर्णालीका कैयौँ तथ्य बाहिर ल्याएको छ । जुन कुरा काठमाडौँ आएर होइन, कर्णालीबाटै कर्णालीको सारा कथा व्यथा काठमाडौँलाई सुनाइरहेको छ ।
कर्णालीमा कर्णालीकै कथा व्यथाको खोजी गरेर कर्णालीबासी र काठमाडौँलाई पनि सुनाउने, देखाउने र बहसको थालनी गर्ने कर्णाली उत्सवका संस्थापक कमल लम्साललाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७२ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]