सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सुरुआतका लागि कर्णाली प्रदेशसभाको सचिवालयले तयारी थालेको छ ।
प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेशसभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो । प्रदेशसभा हल मर्मतसम्भार, रङ्गरोगन र सरसफाइको कामलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ ।
प्रदशेसभाका भवनको मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । पुराना सांसदलाई बिदाइ र नयाँ सांसदलाई स्वागत गरिने कार्यक्रमसमेत तय गरिने बुढाथोकीले बताए ।
उनले पाँच वर्षसम्म भएगरेका कामको विषयमा नयाँ प्रदेशसभा सदस्यलाई जानकारी गराउने उद्देश्यले सारांश निकाल्ने तयारी भएको बताए । यसमा पाँच वर्षको अवधिमा कति वटा र कस्ता विधेययकहरु बनेका छन्, विषयगत समितिका कामहरु कस्ता भए, बैठकहरु कति बसे भन्नेलगायत सूचनाहरु राखिन्छ ।
यसले गर्दा नयाँ आउने माननीयहरुलाई सहज हुन्छ । त्यसैगरी भौतिक पूर्वाधार निर्माण तथा मर्मतको कामहरु पनि अघि बढेको उनले बताए । प्रदेशसभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरुमा रङ्गरोगनका साथै फर्निसिङ र कार्पेटिङलगायत काम भइरहेका छन् ।
सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी–साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। संसद् बैठककक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्ष लगायतको कुर्सीको व्यवस्थापन गरिएको छ । सभामुखको दायाँतर्फ सत्तापक्षका लागि छुट्याइएको छ भने बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ ।
संसद् बैठकका गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद्भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए। संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको उनको भनाइ थियो ।