काठमाडौं: टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ ।
नगरपालिकाले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १० सामुदायिक र तीन वैकल्पिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीलाई वर्षको एकपटक निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागेको हो ।
नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई विद्यालयमै गएर निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागिएको राससलाई जानकारी दिए ।
स्वास्थ्यपरीक्षण अन्तर्गत नाक, कान, घाँटी, दाँत, मुटु, प्रेसर, रगत समूहलगायतको परीक्षण गरिन्छ, परीक्षण गर्दा जटिल प्रकृतिको रोग देखिएमा अन्य अस्पतालमा सिफारिस गरिन्छ। टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ ।
टोखामा हाल बौडेश्वर मावि, झोर महाङ्काल मावि, सरस्वती मावि, चण्डेश्वरी मावि, जालुपा मावि, तिलिङ्गाटार मावि, धापासी मावि, मनोहर मावि, चुनदेवी आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालय रहेका छन् ।
यस्तै, चेतना महिला वैकल्पिक विद्यालयु, बुद्ध नमूना वैकल्पिक विद्यालय र शुभश्री वैकल्पिक विद्यालय रहेका छन् । -