नाम : गजेन्द्र महत
पेशा : राजनीति
पद : पूर्व संघीय सांसद
कर्णाली व्यक्तित्व नं. : ७१
काठमाडौँ : काठमाडौँ नेपालको राजधानी हो । राजधानी भएपनि काठमाडौँका समस्या धेरै छन् । जो काठमाडौँ आइपुगेकालाई थाहा हुन्छ । तर काठमाडौँभन्दा धेरै समस्या कर्णालीमा छ । काठमाडौँमा छिरेका धेरै व्यक्ति (नेता, कार्यकर्ता, जनता, युवा वा जोकोही) शहरको रमझममा रमाउने गरेका छन् ।
गाउँको दुःख र दर्द बोकेर काठमाडौँ छिरेकाहरु पनि शहरमै हराउने गरेका छन् । त्यसैमध्येमा पर्छन्, सांसदहरु पनि । कर्णालीका दुरदराजबाट काठमाडौँ छिरेका सांसद सकेसम्म बोल्न मान्दैनन् । बोल्दैनन् । बोलेपनि शुद्ध नेपाली बोल्ने प्रयास गर्छन् । त्यसरी बोल्दा पनि थोरै र डराई डराई बोल्छन् ।
तर गजेन्द्र महत यस्ता सांसद हुन्, जो कर्णालीकै मौलिक खस भाषामै काठमाडौँमा निरन्तर पाँच वर्ष गर्जिए । उनी सदनमा जति गर्जिए, सडकमा पनि त्यसरी नै पोखिए । कर्णालीदेखि काठमाडौँसम्मका अनेक दुःख र बेदना उनले सदनमा सुनाए । उनले जति भाषण सुनाए, तिनमा प्राय कर्णालीकै समस्या हुन्थ्यो । चर्चा हुन्थ्यो र एक जनप्रतिनिधिका हिसाबले त्यसको सुनुवाईका लागि माग हुन्थ्यो ।
जुम्लाबाट पाँच वर्षअघि चुनाव जितेका गजेन्द्र महत निरन्तर संसदमा गर्जिए । जसले भाषण गरेपछि मूलधारका सञ्चारमाध्यममा समाचार पनि बन्थ्यो । कर्णालीमा ठूला भनिएका धेरै नेता छन्, तर जसले पाँच वर्ष मात्रै होइन, धेरै वर्ष संघीय संसदमा गुजारेका छन् । तर उनीहरुले धेरै होइन, थोरै पनि बोल्न सकेनन् ।
जसले बोले केवल बाध्यता र आवश्यकता मिसाएर मात्रै बोले । त्यो पनि कतै खस भाषा सुनिएला कि भन्ने डरले लाजै लाज, डरै डर मिसाएर बोले । तर गजेन्द्र महत पहिलो दिनदेखि संघीय सदनको अन्तिम दिनसम्म कर्णालीकै आवाज गर्जिएर बोले ।
उनको बोलीले सिंगो कर्णालीको प्रतिनिधित्व गर्ने गरेको थियो । पाँच वर्ष उनले कर्णालीको बाटो, बिजुली, व्यापार, पहुँचदेखि टेलिफोनसम्मको समस्या संसदमा सुनाए । उनले जति सुनुवाई गरे, त्यति पहल पनि गरे । माओवादी केन्द्रबाट निर्वाचित भएकाले उनले आफू मन्त्री बन्न चाहेको तर पार्टी पहुँच र स्वार्थकेन्द्रित राजनीतिमा लाग्दा उनले संसदमै त्यसको कडा आलोचना गर्थे ।
कर्णालीका समस्या सुनाउने र कर्णालीकै समस्या सुनाएर सेलिब्रेटी सांसद बनेका गजेन्द्र महत बेला बेला माग सुनुवाईका लागि आन्दोलन पनि गर्थे । उनले जुम्लाका बिजुली बाल्नका लागि विद्युत प्राधिकरणको कार्यालय बाजागाजसहित घेराउ समेत गरेका थिए ।
त्यसबाहेक उनले कर्णाली उत्सव लगायतका केही मञ्चहरुमा कर्णालीको विकास बहसमा प्रत्यक्ष भाग लिएका थिए । कर्णालीबाट जो जतिपटक सांसद भएपनि गजेन्द्र महतजति कोही बोलेनन् । जो आगामी दिनमा बोल्नेछन्, तिनले पनि कर्णालीको खस भाषामा सायदै भाषण गर्नेछन् ।
कर्णालीको खस भाषाको प्रवद्र्धन, मौलिकताको पहिचान र कर्णालीको विकासका लागि पाँच वर्षको कार्यकालमा सबैभन्दा धेरै कर्णालीको गर्जन हाल्ने तत्कालीन सांसद गजेन्द्र महतलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७१ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]