काठमाडौं । डाक्टर अर्थात् चिकित्सक । जसको काम बिरामीलाई निको पार्नु हो । बचाउनु हो । जीवित रहने औषधि दिने हो । तर, एकजना यस्ता डाक्टर छन् जो मान्छेको मात्रै चिरफार गर्दैनन् दराका समस्याको पनि चिरफार गर्छन् । अँधेरमा हराएको ‘समाधान’लाई टुकी लगाएर खोज्छन् ।
मतलब, जहाँ राज्यको नजर पुग्दैन । सत्ताको नजर पुग्दैन । शक्तिको नजर पुग्दैन त्यहाँ ती डाक्टर पुग्छन् । त्यस्ता दराहरुमा व्यक्तिगत खर्चले निःशुल्क स्वास्थ्य शिविर चलाएर बालबालिकालाई नयाँ जीवन दिन्छन् । स्वस्थ बनाउँछन् । जनचेतना फैलाउँछन् ।
उनैको नाम हो डाक्टर नवराज केसी । उनी प्रदेश अस्पताल सुर्खेतमा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनी डाक्टरको रुपमा मात्रै नभइ समाजसेवीका रुपमा पनि देखिन्छन् । डाक्टर भनेर सरकारले दिएको ‘दुर्गम भत्ता’ उनको खातामा कहिल्यै रहँदैन । कि, दीनदुःखीको खातामा जान्छ कि पेटमा ।
उनलाई डाक्टर र समाजसेवीका रुपमा मात्रै चिनिदैन । अर्को पाटो पनि छ । जसलाई साहित्य भनिन्छ । साहित्य प्रेमीहरु उनलाई साहित्यकारका रुपमा पनि देख्ने गर्छन् । अवसर मिले ती डाक्टर कविता लेख्न पछि पर्दैनन् । गजल लेख्न पछि पर्दैनन् । अन्य साहित्यका धेरै विधा उनलाई आउँछ । चिठी झनै लेख्छन् ।
यो थाहा पाउन एकपटक कर्णाली उत्सवतिर लागौँ । दोस्रो संस्करणमा उनी वक्ता थिए । डाक्टर केसीसहितका वक्ताका लागि शीर्षक ‘छाउ र भाउ’ थियो । त्यसैमा केन्द्रित रहेर समस्या र समाधानको पाटो केलाउनुपर्ने थियो । तर, डाक्टर केसीले कार्यक्रममा आफुले सधैँ चेकजाँच गरिरहेककी गर्भवतीको कथा सुनाए ।
कथा विक्षिप्त थियो । नारी कसैको अँगालोमा बाँधिनुअघि र पछि कति फरक हुन्छ ? एकपटक उनैले सुनाएको कथाले जो कोहीलाई भतभती पोल्छ । श्रीमानले नकुटेको दिन थिएन । नपिटेको दिन थिएन ।
जोसँग आँशु नबगेको रात थिएन । चोटहरु नभएको शरिर थिएन । त्यसमाथि पनि गर्भावस्था । आखिर कसरी बित्दै थियो ती महिलाको दीन ? सोच्न सकिँदैन ।
डाक्टर केसीले लेखेको त्यो चिठीमा खासै तामझाम केही थिएन तर केही शब्दहरु जरुर थिए । जसले गर्भवती महिलामाथि हिंसा गरिरहेको पुरुषको कम्पास सही र परिर्वतनको दिशामा पुर्याइदियो ।
चिठी यस्तो थियो :
‘प्रिय बुवा
म अहिले आमाको काखभित्र खेलिरहेको छु । सुरक्षित छु । खेल्न धेरे ठाउँहरु छ यहाँ । म बाहिर आएर तपाईंको हात समातेर स्कुल जान आतुर छु । तपाईंको काखमा खेल्न आतुर छु । मेरो बुवालाई भेट्न आतुर छ । तर, मेरो बुवा बेलुका ७ बजेपछि मलाई कसैले घाँटी च्यापेको जस्तो लाग्छ । कसैले मलाई मार्दिन–मार्दिन खोजेको जस्तो लाग्छ । मेरो आमाको वरिपरि मेरो बुवा हुँदाहुँदै कसले यस्तो गरेको होला र रु मलाई त यो कुरामा विश्वास लाग्दैन । मेरो आमाको सुरक्षा गरिदिनुहोला हैं । किन भने उहाँकै पेट मेरो घर हो ।’
यहीँ चिठी हो । जसले परिवर्तन मात्रै गराएन सुन्न र पढ्नेको जमात डाक्टर केसीले थेग्न सकेनन् । समाजमा हुने महिलामाथिका हिंसालाई ओकलिएको चिठी त्यो ।
चिठीले हिंसा खेपिरहेकी महिलाले मुक्ति समेत पाइन् । पेटमा हुर्किदै गरेको बच्चा, टाउकोमा राता र निला घाउसहित थकित भएर डाक्टर भेट्न आउने ती महिला पछि ‘डाक्साब त्यो चिठीमा के लेख्नुभएको थियो’ भन्ने प्रश्नसहित खुसी भएर भेट्न आइन् ।
उनै डाक्टर केसीद्धारा लिखित ‘शुन्यको मुल्य’ अर्थात सास, साहस र स्नेह नामक पुस्तक भर्खरै मात्रै विमोचन भएर बजारमा आएको छ ।