कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगेका छन्।
अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोज्नुभयो । तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए । उहाँ रु एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किए ।
“स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन् । सहुलियत नपाउने बीमा गरेर के फाइदा । उनसँगै अस्पतालमा भेटिनुभएका जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गरेका छन् ।
उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गरेका छन् । बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन् ।स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ । उपचारकै लागि अस्पतालमा पुग्नुभएका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताउनुहुन्छ ।
हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ । स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन । स्वास्थ्य बीमा कार्यक्रम सरकारले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याएको जनाइएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् । महाकाली प्रादेशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताए ।
बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन हामीले पनि औषधि खरिद गर्नुपर्छ । अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्छ । उनले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको बताए ।
उनले बीमा बोर्डले तोकेका ८० प्रकारका औषधिबाहेकका अन्य औषधि पनि माग हुने गरेका कारण सेवाग्राहीले सेवा नपाएको गुनासो गर्ने गरेको बताए ।