जुम्ला । जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् ।
पर्यटकीय सम्भावना र स्रोतले दृष्टिले पनि जिल्ला आठ पालिका मध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठुलो ताल (गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् ।
जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । जुम्लाका पातारासी हिमाल, छुमचौर ज्युलो, चन्दनाथ मन्दिर, गुम्बा गुठिचौर पाटन, गिदिदह लगायत सयौँ पर्यटकीय गन्तव्य मध्ये एक आकर्षक पर्यटन गन्तव्य हो तातोपानी धारा ।
यही तातोपानी धाराकै कारण हिजो गाविसदेखि अहिले गाउँपालिकाको नाम तातोपानी रहन गएको छ । यो क्षेत्र तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा अवस्थी छ । कर्णाली राजमार्गको यात्रा गरी राजमार्गबाट २ मिनेट ओरालो झर्दा भेटिन्छ ।
माइनस तापक्रममा बग्ने तिला नदीको छेउमा अवस्थित तातोपानी धारा बाह्रै महिना तातोपानी बग्छ, अझ हिउँदको समयका लागि निकै उपयुक्त मानिने उक्त तातोपानीमा दैनिक ४ सयदेखि ५ सय सम्म आन्तरिक पर्यटक आउने गरेका छन् । मङ्सिरदेखि माघ सम्मको तीन महिलालाई सिजनका रुपमा लिने गरिन्छ ।
आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको तातोपानी प्रचार प्रसारको कमी, पूर्वाधार र व्यवस्थापनको अभावले पालिकाले अपेक्षित लाभ लिन सकेको छैन । बारुद गन्हाए जस्तो गन्ध आउने उक्त पानीमा नहुँदा हाडजोर्नी, बाथ रोग, नसा रोग, ग्यास्ट्रिक, पेट दुख्ने लगायतका रोगको निवारण हुने विश्वासले पनि तातोपानी धारामा पर्यटकको घुइँचो लाग्ने गरेको गरिन्छ । तर पूर्वाधार अभाव,प्रचारको कमीले भने तातोपानी अझै गुमनाम जस्तै देखिन्छ ।
पालिका समृद्धिको आधार मानिने तातोपानीमा पर्यटकको आगमन वृद्धि गर्न गुरुयोजनाका माध्यमबाट बाह्य र आन्तरिक लगानी भित्राउन जुटाउन आवश्यक छ ।
पर्यटन प्रवर्द्धन गर्न धारामै महासङ्घको साधारणसभा
नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको १९औँ वार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै तातोपानी धारामा सम्पन्न भएको छ ।
महासङ्घ स्थापनाको इतिहासमा पहिलो पटक सदरमुकाम भन्दा बाहिर गएर तातोपानी–२ स्थित पर्यटकीय क्षेत्र तातोपानी धारामा साधारण सभा भएको हो । तातोपानीको पर्यटन प्रवर्द्धन, पर्यटकको आगमनमा वृद्धि, प्रचार प्रसारमा जोड दिन र समृद्ध पालिका बनाउने उद्देश्यले तातोपानी धारामा महासङ्घ साधारणसभा गरिएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
गुमनाम गिडिदहको प्रचारमा जुम्ली मिडियाले उल्लेखीय भूमिका खेल्यो । अब तातोपानीको पर्यटन प्रर्बद्धनमा मिडियाले उजागर गर्ने छ । साधारण सभाले पर्यटन प्रर्बद्धनमा कोशे ढुङ्गा सावित हुने विश्वास छ ।”
आर्थिक समृद्धिको प्रचुर सम्भावना बोकेको तातोपानीको विकासमा राज्यको ध्यान केन्द्रित गर्न तथा पर्यटक वृद्धि गर्नेमा आशा पलाएको स्थानीय धनबहादुर बुढाले बताए ।
संघ प्रदेशबाट उपेक्षा रहेको तातोपानीका सम्भावनाले अब अवसर पाउने र लगानी जुट्ने उनको विश्वास छ ।
तातोपानी समृद्धिका मार्ग भनेकै पर्यटन हो । तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले भने गिडिदह र तातोपानीमा पूर्वाधार निर्माण, प्रचार प्रसार गरी पर्यटक भित्राउने सकिने सम्भावना छ । पर्यटन प्रवर्द्धनका लागि संघ प्रदेशबाट लगानी जुटाउन पहल भइरहेको छ ।
विकास निर्माण तथा अन्य जनहितका काममा महासङ्घसँग समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाइने समेत अध्यक्ष चौलागाईले उल्लेख गरेका छन्।