पाल्पा: तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।
तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्नका लागि काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए । अप्ठ्यारो बाटोलाई फराकिलो बनाउन केही समय सडक बन्द गरेर कामको सुरुआत गरिएको छ ।
एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइनेछ, हामीले तोकिएको समयभन्दा चाँडो सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएका छौँ । माल्मुम क्षेत्रमा करिब दुई किलोमिटर साँघुरो, अप्ठ्यारो बाटोलाई फराकिलो बनाउने योजनाअनुरुप कामको थालनी गरिएको सडक डिभिजन कार्यालय पाल्पाका इञ्जिनियर निरञ्जन अर्यालले बताए ।
उनका अनुसार यस क्षेत्रमा हाल दैनिक ४० कामदार काम गर्दैछन् । साना सवारीसाधनका चालकले वैकल्पिक मार्गको रुपमा जोर्ते–चण्डीभन्ज्याङ सडक प्रयोग गर्न सक्नेछन् ।
सिरुखर्क–माल्मुल क्षेत्रमा बिहीबारदेखि आउँदो पुस ७ गतेसम्म बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ७ वजेदेखि १० वजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ । सो सडकखण्ड भएर पाल्पा, गुल्मी, बुटवल, बाग्लुङ, पर्वतलगायतका यात्रु दैनिक ओहोरदोहोर गर्दछन् ।