पाल्पा: गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ । ग्रामीण भेगमा पुरानो परम्परागत रुपमा उत्पादन हुने सामग्री सहर बजारमा झट्ट बिक्दैनन् ।
परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ दारेचोकका ४६ वर्षीय जितु दर्लामीले उत्पादन गरेका परम्परागत काठजन्य सामग्रीले बजार नपाउँदा अन्यत्र जिल्लामा धाउनुपरेको छ ।
उनले ठेकाठेकी, मानाजस्ता परम्परागत सामग्री तयार पार्नुहुन्छ तर आफूले उत्पादन गरेको सामग्री बिक्री नभएपछि उन बोकेर विभिन्न जिल्लामा पुग्नुहुन्छ । पाल्पाको रामपुरमा ठेकाठेकी, मानालगायतका काठजन्य सामग्रीको व्यापार गर्न आउनुभएका दर्लामीले बजारमा परम्परागत सामग्रीको महत्व नहुनु र उपभोक्ताले चलनचल्तीमा नल्याउँदा बिक्रीमा समस्या परेको गुनासो सुनाए ।
ठेकाठेकी, मानाको ठाउँमा अहिले बजारमा आधुनिक प्रविधिका सामान आउन थाल्यो, पुराना चलनचल्तीमा आएका सामग्री हराउँदै जानु, बजारमा यसको महत्व र प्रयोगबारे अहिलेका पुस्तालाई जानकारी नहुँदा हामीलाई व्यापार गर्न गाउँमै पुग्नुपरेको छ ।
उनले लामो समयसम्म टिकाउ हुने साजन, दारको काठबाट सामग्री तयार पार्नुहुन्छ । गाउँमा पुगेर सामान बिक्री नगरेसम्म बिहान साँझको हातमुख जोर्ने उहाँको परिवारमा अर्को उपाय छैन । अन्यत्र जिल्लामा आफ्नो र छिमेकीले उत्पादन गरेका सामानको उनले व्यापार गर्दै आउनुभएको छ ।
ठेकाठेकीको मूल्य न्यूनतम मूल्य रु एक हजारदेखि बढीमा रु दश हजारसम्म पर्छ । काठका सामान आकार हेरेर मूल्य कायम गरिएको छ, एकै ठाउँमा बिक्दैन, विभिन्न जिल्लाका गाउँ बस्तीमा सामान बोकेर बेच्ने गरिरहेको छु, बजारीकरणका लागि अन्यत्र जिल्लामा जानुपर्दा निकै सास्ती परेको छ ।
दर्लामीले अहिले साहाराका लागि श्रीमती गोरीमायालाई पनि साथमै लिएर व्यापारमा ठाउँ ठाउँमा पुग्ने गर्नुहुन्छ । घरमा साना साना बालबच्चा छाडेर अर्काको ठाउँमा व्यापारमा निस्कदा धेरै चुनौतीको सामना गरिरहनुपरेको छ । अहिलेसम्म चितवनका अलवा बाग्लुङ, पर्वत, पाल्पा, म्याग्दी, तनहुँ, स्याङ्जा, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा पुगेर दर्लामीले व्यापार गर्दै आउनुभएको छ ।
गाउँघरमा दुग्धजन्य पदार्थ दूध, दही, घ्यू राख्न साजन, दारका काठबाट उत्पादन गरिएको ठेकाठेकी, माना गाउँमा धेरैको रोजाइमा पर्छ । हरेक वर्ष साउनदेखि पुस महिनासम्म सामान बोकेर घरघरमा पुगेर व्यापार गर्ने गरेको उनले बताए ।
यसैबाट पाँच जना छोराछोरीको लानपालन, पठननपाठनमा सहज होस् भन्ने उहाँको उद्देश्य छ । स्थानीय उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाइदिन उनको अनुरोध छ ।