झापा: झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो ।
अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो । कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ ।
नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो । नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ ।
भूमि ऐनले तथ्याङ्क सङ्कलन र धनीपुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ”, नगरप्रमुख पोखरेलले । छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा नपाएको अवस्था छ, अब त्यो अन्त्य हुन्छ । नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो ।
निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ । कनकाइमा भूमिहीन दलितको सङ्ख्या तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९ र अव्यवस्थित बासोबासीको सङ्ख्या चार हजार चार सय २५ रहेको छ ।
उनीहरूको लगत सङ्कलनलगायतका सबै काम सकिएको छ भने एक हजार पाँच सय ३१ बिघा जग्गाको आठ हजार सात सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने छ ।