काठमाडौँ : नेपालको १० वर्षे जनयुद्ध जन्माउने भूमि कर्णाली हो । जनयुद्धका कमाण्डर प्रचण्डलाई लुकाउने, जोगाउने, उठाउने र चम्काउने काम पनि कर्णालीले गर्यो । प्रचण्डको खुट्टादेखि शीरसम्म लुकाएर उनीहरुकै शब्दमा क्रान्ति सफल पार्ने तत्कालिन कर्णालीका नेताहरुको टाउकोमा थियो ।
आफू नसुती नसुती, नखाई नखाई नेताहरुले प्रचण्ड जोगाए । माओवादी आन्दोलन जोगाए । संविधान, गणतन्त्र र संघीयताको बीउ जोगाए । तिनै प्रचण्ड र माओवादी जोगाएका कारण आज नेपालमा संविधान बन्यो । गणतन्त्र आयो । संघीयता लागू भयो ।
तर नेपालमा व्यवस्था परिवर्तन गर्ने कर्णालीका युवा र आशलाग्दा नेताहरु धमाधम एमालेतिर प्रवेश गरिरहेका छन् । केही समय पहिले आफ्नै पार्टीको नेतृत्वमा भएको सरकार ढाल्न स्वयंम माओवादी केन्द्रकै नेताहरु लागे । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न माओवादी जनयुद्ध लडेका नेता ठम्मर बिष्ट अगाडि आए ।
उनले माओवादीले आन्दोलन र जनतालाई प्रचण्डले धोका दिएको बताएका थिए । शाही नेतृत्वको कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा बिष्ट त्यसको योजनाकारमै थिए । बिष्टसँगै थिए, दैलेखबाट प्रदेश सांसद बनेका धर्मराज रेग्मी ।
दुबै जना सांसदले माओवादी र प्रचण्डलाई नै आफनो कित्ता स्पष्ट पार्ने गरी चुनौति दिए । प्रचण्डको आश्वासनपूर्ण राजनीतिबाट दिक्क भएका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा पुगे । आफू कमजोरबाट शक्तिशाली बन्यो भने मात्रै चुनाव जित्ने र गतिलो नेता भइन्छ भनेर भ्रम पालेर बसेका छन् केही । तर पनि कर्णालीका नेताहरुले चेतेका छैनन् । अझै टिठलाग्दो राजनीति गरिरहेका छन् ।
यसअघि नै माओवादी छाडेर एमालेमा लागेको रेग्मी अहिले पनि ओली गुटमै छन् । यस्तै मंगलबार मात्रै गंगाराम तिमिल्सना पनि एमालेमा प्रवेश गरे । उनी माओवादी केन्द्रका तत्कालिनदेखि वर्तमानसम्म जिम्मेवार नेता हुन् । तर पनि उनी माओवादी छाडेर एकताका लागि भन्दै एमाले प्रवेश गरे । एमाले प्रवेश गर्दा पनि उनले माओवादीप्रति ठूलो आशलाग्दो निर्णय भएको छैन् ।
दोस्रो कुरा यो नेताहरुलाई चुनावमा जिताउने उद्धेश्यसहित कर्णाली ब्युझेको हो । तर पनि माओवादी आन्दोलनले धोका दिएको भन्दै नेताहरु एमालेमा प्रवेश गरिरहेका छन् । केही दिनअघि माओवादी नेता ठम्मर बिष्ट प्रचण्ड निवास पुगेर माओवादीमा फिर्ता भए ।
तर उनी सांसद पद जोगाउन मात्रै फिर्ता भए जस्तो छ । रेग्मी भने अहिले पनि एमालेमै छन् । साथै गंगाराम तिमिल्सेना पनि एमालेमा प्रवेश गरेका छन् । तिमल्सेनाका साथै डिल्लीराम कँडेल पनि एमालेमा प्रवेश गरेका छन् ।
आश गरिएका र जोशिला युवा नेताहरु एमालेमा प्रवेश गर्दा कर्णालीमा माओवादी केन्द्रको राजनीति धुमिल हुँदै गएको छ । यसरी नेताहरुले पार्टी छाड्नुका पछाडि उनीहरुलाई पार्टीले दिएको सम्मान र जिम्मेवारी नै हो ।
सम्मान र जिम्मेवारी दुवुै नदिने र आ आफ्नो नातेदारलाई मन्त्री पद बाड्न थालेपछि नेताहरु पार्टी छाड्न थालेका हुन् । पार्टीभित्रै घात प्रतिघात भएका कारण कर्णालीमा शाही नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको छ ।
माओवादीको सरकार ढालेर एमाले मुख्य नेता यामलाल कडँेल आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका छन् । एमालेका दुवै पक्ष मिलेर माओवादीको सरकार ढालेर आफ्नो सरकार बनाउन लागेका हुन् । अनि त्यही मौकामा चौका हान्न माओवादी नेता अहिले नै एमालेको कित्तामा उभिएका हुन् ।
हिजो जनयुद्ध लडेको धाक लगाउने माओवादी नेताहरु आफन्त पोस्न लागेपछि निराश बनेका खास नेता कार्यकर्ता यतिबेला अर्को पार्टी रोजिरहेका छन् । यसले माओवादी किल्ला मानिने कर्णालीमा माओवादी बिस्तारै रित्तिदै गएको देखाउँदैछ ।