काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले जानकारी दिए । उनले भने , “प्रधानमन्त्रीजीसँग भेटघाट भएको हो, समसामयिक विषयमा कुराकानी भएको छ, निर्वाचनपछि उहाँसँग भेटघाट गरेको हुँ ।”
अध्यक्ष ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताए । पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उनको भनाइ छ ।
लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले जानकारी दिए ।
उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”
सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।