कालीकोट: कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको हो ।
कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए । वनभोजस्थल, प्रतीक्षालय र तालवरिपरि पैदलमार्ग निर्माण गरिएको छ ।
गुफाको पर्यटन प्रवद्र्धनका लागि तिला नदीमा डुङ्गा निर्माण गर्नुपर्नेछ । पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र त्यसका विषयमा पोस्टर बनाएर प्रचारप्रसारको काम थालनी गर्ने योजना रहेको छ ।” नेपालको प्रमुख पर्यटकीय गतव्य रारा जाने बाटो पनि पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले गुफाको अवलोकन गर्ने गरेको वडाध्यक्ष न्यौपानेले बताए।
प्राकृतिक धार्मिक महत्व बोकेको गुफाको लम्बाइ ४० मिटर तथा चौडाइ करिब तीन मिटर रहेको छ । गुफाको बनावट प्राकृतिक रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नका लागि सडक व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।
अहिले गुफासम्म पुग्नका लागि नगरपालिकाले सडकदेखि गुफासम्म रेलिङसहितको व्यवस्थित बाटो निर्माण गरेको र मन्दिरसहित अन्य पूर्वाधार निर्माण भइसकेको स्थानीय धर्म न्यौपानेले बताए ।
यहाँ अवलोकन गर्न आउने पर्यटकले तिलाका असला माछा स्याउ, सिमीलगायत अर्गानिक उत्पादन स्वाद लिन पाउनेगरी थप होमस्टेलगायत होटल व्यवस्थापन गर्न बाँकी रहेको स्थानीय चङ्खबहादुर रोकायले जानकारी दिए।