नाम : जनार्दन शर्मा
पेशा : राजनीति
कर्णाली व्यक्तित्व नं. : ७०
काठमाडौँ : कर्णालीबाट केन्द्रीय राजधानी काठमाडौँको राजनीतिमा माओवादीबाट प्रभाव जमाउने नेता हुन्, जनार्दन शर्मा । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका जनार्दन प्रचण्डपछिका उत्ताराधिकारका रुपमा आफूलाई अगाडि सार्न मन पराउँछन् ।
तत्कालीन विद्रोही नेकपा माओवादीले जनयुद्ध थाल्दा जनमुक्ति सेनाको कमाण्डरमध्येका एक जनार्दन खरो बोल्ने, विवादित टिप्पणी गर्ने तथा सत्ता र शक्तिसँग निरन्तर प्रभाव जमाउने नेतामा पर्छन । रुकुम पश्चिमका सांसदसमेत रहेका जनार्दनले अहिलेसम्म झण्डै आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
माओवादी शान्ति वार्तामा आउनेवित्तिकै उनले सिंहदरबार छिर्ने मौका पाएका थिए । ऊर्जामन्त्री हुँदा नेपालको लोडसेडिङ हटाएर चर्चित भएका जनार्दन त्यसपछि गृहमन्त्री भइसकेका नेता हुन् । अर्थमन्त्री हुँदा बजेट निर्माणका क्रममा बिचौलियाको प्रवेश गराएको भन्दै चर्को विवाद र आलोचनामा परेका नेता शर्मा बेला बेला विभिन्न विवादमासमेत मुछिदै आएका छन् ।
संघीयता आएपछि कर्णालीमा राजनीतिक बर्चश्व जमाएका नेता शर्मा खरो बोल्ने, सटिक टिप्पणी गर्ने र माओवादी पार्टी तथा नेता कार्यकर्ताप्रति ठूलो मात्रामा प्रभाव जमाउने नेताका रुपमा परिचित छन् । जनयुद्धबाट शान्तिकालमा आएपछि अध्यक्ष प्रचण्डसँग निकट रहेका जनार्दन शर्मा राजनीतिक खिचातानीमा पनि सँधै अगाडि देखिन्छन् ।
कर्णालीको ‘टावर लिडर’ बन्न उनले लोकेन्द्र बिष्ट मगर, खड्ग विश्वकर्मा प्रकाण्डदेखि वर्षमान पुन, शक्ति बस्नेतलाई समेत पछाडि पारेका थिए । एउटै हैसियतका नेता वर्षमानसँग व्यक्तिगत टकराव भएकै कारण जनार्दनले रुकुम जिल्लालाई विभाजन गरेर संघीयता कार्यान्वयनका क्रममा रुकुम पूर्व र पश्चिम बनाएको चर्चा छ ।
कर्णालीको शीर्ष नेता बन्नका लागि जनार्दन र शक्तिको पनि लडाई हुने गरेको छ । कर्णाली प्रदेशको सुरुवातको नेतृत्वमा जनार्दन हावी हुँदा कालिकोटका महेन्द्र शाही मुख्यमन्त्री बनेका थिए । जनार्दन प्रभावकै कारण कर्णालीमा विमला केसी माओवादी अध्यक्ष बनिन् । रुकुम पश्चिमबाट मात्रै जनार्दन प्रभावका कारण गएको पाँच वर्षमा तीन जना मन्त्री बन्न सफल भए ।
प्रभावकै कारण जनार्दन शर्मा बेला बेला विवादमा आउने नेता पनि हुन् । माओवादी पार्टीको अधिवेशनमै जनार्दन एकपटक बाबुराम भट्टराईलाई आक्रमण गर्न तम्सिएका बेला चर्चा र विवादमा आएका थिए । त्यसअघि संविधानसभामा तत्कालीन सभामुख सुवास नेम्वाङमाथि पनि आक्रमण गर्न रोष्ट्रममा उक्लिन लागेका कारण उनी चर्चा र विवादमा थिए ।
त्यसबाहेक रुकुम पश्चिमको सोती गाउँमा गैरदलित युवतीलाई बिहे गर्न गएका जाजरकोटका नवराज विकलगायत ६ जना युवाको हत्या घटनालाई बचाउ गरेका कारण जनार्दन शर्मा सबैभन्दा धेरै विवाद र आलोचनामा आएका थिए । सो घटनामा जनार्दनमाथि दलित समूदायका नेता कार्यकर्ताले ठूलो असन्तुष्टि जाहेर गरेका थिए ।
सो घटनालाई राजनीतिकरण गर्न जनार्दनको प्रत्यक्ष भूमिका रहेका धेरै तथ्य सञ्चारमाध्यममा प्रकाशित भएका थिए । त्यसबाहेक अध्यक्ष प्रचण्डको सार्वजनिक मञ्चबाटै विरोध गरेका कारण उनी चर्चा र विवादमा आएका थिए । त्यसअघि अर्थमन्त्री रहेका बेला करका दर हेरफेरमा गम्भीर विवादमा मुछिएपछि उनले राजीनामा दिएर फेरि छानबिनपछि अर्थमन्त्रीमा फर्केका थिए । माओवादी महासचिव बन्न ठूलै संघर्ष गरेका उनी महासचिव बन्न नसकेपछि अध्यक्ष प्रचण्डविरुद्ध पनि खनिएका थिए ।
कर्णालीबाट केन्द्रीय राजधानी र संघीय सत्ता तथा शक्तिमा ठूलो प्रभाव जमाइरहेका माओवादी नेता जनार्दन शर्मालाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिको ७० औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]