फोटो / जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वाचित राजीव बिक्रम शाह
काठमाडौं : नेपाली कांग्रेस, संसदीय दलको नेता को हुने ? आगामी सरकारको नेतृत्वको प्रमुख दावेदार कांग्रेसभित्र प्रधानमन्त्री पदलाई लिएर हुने संसदीय दलको नेता छनौटको हुण्डरी केन्द्रमा मात्र होइन, प्रदेशसम्म पनि पुगेको छ ।
बुधवार, जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वाचित राजीव बिक्रम शाहले कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलको नेताका लागि मैदानमा उत्रिने बताए । स्वाभाविक थियो, ‘राजीव मैदानमा आउनु ।’ किनकि, सभापति देउवाले राजीवलाई त्यहीँ आश्वासन दिएर प्रदेश निर्वाचन क्षेत्रमा पठाएका थिए ।
जाजरकोट,कांग्रेसले राजीवको नाम एकल रुपमा प्रनिनिधिसभामा सिफारिस गर्दा मुख्यमन्त्रीको आश्वासन दिएर देउवाले प्रदेशमा पठाएका थिए । तर, राजीवका लागि त्यो आश्वासमा मात्र सीमित हुने पुलिन्दाहरु धेरै छन् ।
एउटै गुटका प्रतिस्पर्धी
यदि, प्रदेश संसदीय दलको नेतामा राजीव शाहले प्रतिस्पर्धा गर्नु परेमा अरु कोहीसँग गर्नुपर्ने छैन, उनै सभापति देउवा गुटमा रहेका जीवनबहादुर शाहीसँग गर्नुपर्ने छ । जसले राजीवलाई १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न रोकेका थिए । त्योबेला, सभापति देउवाले जीवनलाई केन्द्रीय सदस्य बनाएर राजीवलाई ब्याक गराएका थिए । राजीवले केन्द्रीय सदस्य बन्न १४ औँ महाधिवेशन कुर्नुपर्यो । १४ औँ महाधिवेशनमा देउवा गुटबाट राजीव केन्द्रीय सदस्यमा विजयी हुँदा जीवन सह–महामन्त्रीमा पराजित भए ।
संघीय सरकारको मन्त्री भइसकेका जीवन, ०७४ को निर्वाचनमा प्रदेशतिर लागे । प्रदेशमा जानुको कारण थियो, ‘कर्णाली सरकारको नेतृत्व गर्ने ।’ तर एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले अपेक्षाकृत नतिजा आउन दिएन ।
कर्णाली प्रदेशसभामा कांग्रेसले प्रत्यक्षतर्फ एक सिट मात्रै जित्यो । ०७४ मा प्रत्यक्षतर्फ जित्ने एक्ला सांसद् भए पनि अहिले कर्णाली सरकारको नेतृत्व जीवन शाहीले नै गरेका छन् । देउवाले प्रदेशतर्फ औँला गन्न सुरु गरे भने गणनाभित्र पर्ने मध्येका पहिलो पात्र हुन्, जीवन । त्यसमाथि उनलाई उपसभापति पूर्णबहादुर खड्काको साथ पूर्ण रहन्छ । त्यसैले उनी देउवा गुटभित्र राजीवभन्दा दुई पाइलामाथि छन् ।
आशीर्वादको पर्खाइ
सत्ता प्राप्त खेलको अर्को चाल हो, कुटनीति । तर, ‘गुट’ चलाउने मामिलामा कच्चै छन्, राजिव ।राजनीतिलाई सेवाका रुपमा बुझ्ने राजीव पार्टीभित्र गुटको अन्त्य गर्नुपर्छ भनेर एकपटक अभियन्ता नै बन्न खोजेका थिए । अहिले पनि उनलालाई कांग्रेसको गुटबारे प्रश्न गर्दा, ‘अन्त्य गर्नुपर्छ’ भन्ने मान्यता त राख्छन, तर पार्टीभित्र देउवाकै गुट–उपगुटबारे केही बोल्न सक्दैनन् ।
उता कूटनीतिक दबाब, प्रभाव र रवाफले जीवन केही पाइला अघि भएकाले संसदीय दलको नेतामा उनी नै दोहोरिने देखिन्छ, सान्त्वनाका लागि राजीवलाई माथिको आदेशले ‘मन्त्री लाइन’को पहिलो नम्बरमा राख्ने सम्भावना छ ।
कर्णाली प्रदेशसभामा कांग्रेसले १४ सिट जितेको छ । १४ मध्ये ११ जना सांसद देउवा समूहमा खुलेका छन् । बाँकी तीन सांसद इतर समूहमा छन् । संसदीय दलको नेतामा इतर समूहबाट दाबी छैन । देउवा समूहबाटै राजीव र जीवनको दाबी छ ।
संसदीय दलको नेतामा दोहोरिएर सरकारको नेतृत्व गर्ने दाउमा छन्, जीवन । राजीवलाई भने कांग्रेस सभापति देउवा र नेतृ आरजु राणाले चुनावमा मुख्यमन्त्रीको आश्वासन दिएर प्रदेशमा पठाएकोले माथिको आशीर्वाद ‘वेट एण्ड सी’ गर्नुको विकल्प छैन ।