१८ चैत, खलंगा । जाजरकोट कर्णालीको एउटा पिछडिएको जिल्ला मानिन्छ । जहाँ अभाव र गरीबीलाई मात्रै मध्यनजर गरिन्छ । तर जाजरकोटमा केही यस्ता बस्ती छन्, जहाँ सुन्दरता मात्र होइन, स्वर्गको काखमा बसेर जीवन हराभरा भएको देख्न सकिन्छ ।
त्यसमध्ये एक ठाउँ हो, ताँसी । बारेकोट गाउँपालिका – ६ मा पर्ने ताँसी भिरालो बस्तीमा अवस्थित रहेको सुन्दर ठाउँ हो । जहाँ माथिल्लो भेगमा घर्तिगाउँ छ । अनि तल्लो भेगमा कार्कीज्युला । घर्तिगाउँ र कार्कीज्युलाको बीच भागमा रहेको ताँसी सुन्दरताको खोचमा राखिएको स्वर्गको टुक्रा जस्तो लाग्छ ।
ताँसी पनि माथिल्लोताँसी र तल्लोताँसी गरी दुई वटा छन् । ताँसीलाई चिनाउने मुख्य ठाउँ वतनछहरा हो । जुन छहरा आफैमा यति सुन्दर देखिन्छ, जो हेरिरहुँ लाग्छ ।
जन्ते हिमालको काखमुनीबाट बग्दै तल्लोताँसीको ठुलो खोला सम्म पुगेको छ, वतनछहरा । वतनछहरा कार्कीज्युलाबाट उकालो हिड्नु पर्छ । उकालो सकिएपछि ताँसी दृश्यमा गुन्जिन्छ ।
लामो उकालोको थकानपछि विश्राम लिने पैडाँडामा चौतारी भेटिन्छ । विश्राम लिदैं गर्दा वतनछहराको आवाज गुन्जिरहेको हुन्छ । त्यो आवाजले थकानहरु विलीन हुन्छन । अनि वतनछहरा भेटिन्छ ।
भौगोलिक रुपमा विकट मानिएको गाउँपालिका बारेकोट विस्तारै विकासको यात्रामा लम्किरहेको छ । ताँसीमा पनि सडक सञ्जाल जोडिएको केही समय भयो ।
पछिल्लो समय विकासको छाल पनि ताँसीमा बढ्दै गएको छ । स्थानीय मकदुल विश्वकर्माका अनुसार बारेकोटको विकट वस्तीका रुपमा ताँसी परिचित थियो । विकासको यात्रासंगै ताँसी पनि समृद्धिको यात्रा मै छ ।
बद्लिदो ताँसीसँगै ताँसीबासीहरुका सपनाहरु पनि बद्लिने क्रममा छन । दृश्यहरुमा गुन्जिरहेको ताँसी यतार्थमा पनि उत्तिकै सुन्दर छ । ताँसीको आफ्नै कला संस्कृति, परम्परागत जीवनशैली देखिन्छ ।
बारेकोटको परिचय नै ताँसीले बोकेको छ । ताँसीको सुन्दरताले बारेकोट मात्रै होइन, जाजकोटलाई पनि सिंगो कर्णालीभरीमा सुन्दर बनाएको छ । तर भौगोलिक विकटतामा सडक सञ्जाल र पूर्वाधारको भने कमी नै छ ।