काठमाडौं: सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदक बसौलाले जानकारी दिए।
“आज अन्तरिम आदेश दिएका ,” उनले भने, “शपथ लिँदैमा भोलि कारबाही नहुने होइन, त्यसैले अन्तरिम आदेश दिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएर एक हप्ताभित्रमा दुवै पक्षको प्रमाण हेरेर अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्ने न्यायाधीशहरूले भने।” सर्वोच्चले अन्तरिम आदेश नदिएकाले लामिछानेलाई बिहीबार पद तथा गोपनीयताको शपथ लिने बाटो खुलेको छ।
नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए । उनीहरुले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकीर गरेका थिए ।
तर, बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।