सुर्खेत: कर्णाली प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिवार निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिले शनिबार संसदीय दलको नेता चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायका अनुसार शुक्रवार मतदाता नामावली प्रकाशन, दाबीविरोध, उम्मेदवारका लागि दरखास्त, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए । मतदान प्रदेशसभा संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।
वीरेन्द्रनगरमा विहीबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा महामन्त्री कृष्णबहादुर रोकाया संयोजक तथा खगिसरा आचार्य र दमन शाही सदस्य छन् ।
दलको नेताका लागि मुख्यमन्त्री समेत रहेका पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही र केन्द्रीय सदस्य राजीवविक्रम शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । ४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ सांसद छन् ।
बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी कांगे्रस नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय समेत गरेको छ ।
यी हुन् कर्णाली प्रदेशसभा संसदीय दलका आकांक्षी नेताहरु
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेभित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहँदा आँकाक्षी नेताहरूको नाम अगाडि आएको छ ।
प्रदेशसभामा १५ सिट जितेर पहिलो बनेको कांग्रेसमा २ जना नेता आकांक्षी छन् । बहालावाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित शाहीले पुनः संसदीय दलको नेता बन्न लविङ गरिरहँदा जाजरकोट (२) बाट निर्वाचित शाहले पनि संसदीय दलको नेतामा दाबी गरेका छन् । दुवै नेता कांग्रेस सस्थापन पक्षकै हुन् । शाहले संसदीय दलमा आफ्नो दाबी रहेने बताइरहँदा मुख्यमन्त्री शाही भने आफू दलको नेता र मुख्यमन्त्री बन्ने कुरामा दुई मत नरहेको बताउँदै आएका छन् ।
यस्तै, १३ सिट जितेर दोस्रो दल बनेको नेकपा माओवादीमा पनि दुई जना आंकाक्षी देखा परेका छन् । रुकुम पश्चिम (२) बाट निर्वाचित भएका राजकुमार शर्मा र सुर्खेत २ (२) निर्वाचित भएका विन्दमान विष्ट माओवादी संसदीय दलको नेताका आकांक्षी हुन् । शर्मा पहिलोपटक विजयी भएर आएका छन् भने विष्ट यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका छन् । यद्यपि पार्टी वरीयतामा विष्टभन्दा शर्मा अगाडि छन् ।
नेकपा एमाले यसपटक तेस्रो स्थानमा झरेको छ । १० सिट जितेको एमालेभित्र पनि दुई जना आकांक्षी देखिएका छन् । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह दलको नेता बन्न आन्तरिक तयारीमा जुटेका छन् ।