काठमाडौँ, ९ चैत । अब सामुदायिक तथा निजी अस्पतालले कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारको लागि टेकु अस्पतालमा रिफर गर्न नपाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको शंका लागेका बिरामीको उपचारको व्यवस्था आफैले मिलाउनु पर्ने व्यवस्था गरेसँगै विरामीलाई टेकु रिफर गर्न नपाउने भएको हो ।
अस्पतालहरूले टेकु अस्पतालमा रिफर गरिएका विरामीहरू सार्वजनिक सवारीबाट जाने गरेकोले थप जोखिम निम्तिएको भन्दै उक्त निर्णय गरिएको हो।
यसअघि नीजि तथा सामुदायिक अस्पतालहरूले कोही व्यक्ति कोरोनाको शंका लागेर जँचाउन आउने बित्तिकै टेकु अस्पताल पठाउने गरेका थिए।
सुरुमा सय शैया भएको अस्पतालमा लागू भएतापनि पछि सबै अस्पतालमा लागू हुने मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अब कोही व्यक्ति कोरोनाको शंका लागेर जाँच गर्न आए अस्पतालले त्यसको व्यवस्था गर्नुपर्ने छ।
यो नियम सुरुमा सय शैयादेखि माथिको क्षमता भएको अस्पतालमा लागु हुनेछ।
मन्त्रालयले सबै निजी अस्पतालहरूलाई कोरोना भाइरसका शंकास्पद विरामीका लागि छुट्टै आइसोलेसन बेड र फिबर क्लिनिक व्यवस्था गर्न निर्देशन दिएको छ।
अब अस्पतालहरूले शंकास्पद विरामीलाई आइसोलेसनमा राखेर परीक्षणको लागि घाँटी र नाकको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने छ।
साथै कसैलाई संक्रमण देखिए सकेसम्म अस्पतालमै उपचार गर्ने व्यवस्था गर्नुपर्ने र रिफर गर्नुपरे सबै मापदण्ड पुर्याएर एम्बुलेन्समा पठाउनुपर्नेछ।
रिफरका लागि हामीले टेकु, पाटन र एपिएफ अस्पताल तोकेको र थप विस्तार गर्ने तयारी रहेको जनाकारी दिएको छ ।
विश्वमा कोरोना भाइरसको संक्रमण देखिन थालेयता मौसमी रूघाखोकीका विरामी आउँदा अस्पतालहरूले सिधैं टेकु अस्पताल जान सुझाउँदै आएका थिए।
टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले यसरी अव्यवस्थित तरिकाले विरामी आउँदा अस्पतालमा चाप हुने र त्यसले थप जोखिम निम्त्याउने खतरा हुने गरेको बताए।