कालीकोट: कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षायाममा मनोमोहक रहने गरेको छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो ।
महावै पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको छ । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन् ।
कालीकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनको बीचमा रहेको ढुङ्गामाथि शिवको मन्दिर रहेको छ । हरेक वर्ष जनैपूर्णिमा मेलाका अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्दछ ।
शिव मन्दिरलाई यहाँका स्थानीयले महावु जगन्नाथ भन्ने गरेको र महावै जगन्नाथलाई महादेवको प्रतीकका रुपमा लिने गरिएको महावै गाउँपालिका–२ ओदाका कर्णबहादुर सिंहले बताए । “पूजा गरे वा प्राथना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । शिव मन्दिरको मेलाका भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमा दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेत जिल्लाबाट श्रद्धालु आउने गर्नुहुन्छ ।
महावै पाटन सबै मौसममा उत्तिकै मनोमोहक रहने भएकाले पर्यटकले जहिले पनि उत्तिकै मनोरञ्जन लिन सकिने महावै गाउँपालिका–१ का सर्पराज सिंहले बताए । “वैशाख, जेठ, असार, साउन र भदौ महिनामा पाटनमा पुग्ने जोकोहीलाई पनि सुन्दरताले स्तब्ध पार्छ । देशका सय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावुधाम समेटिएको र भौतिक पूर्वाधारलगायतको विकासमा पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
यहाँको पर्यटन विकासका लागि हामीले धर्मशालालगायतका अन्य भौतिक संरचना निर्माणका लागि पहल थालेका छौँ ।पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेको छ । महावै पाटनलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन रु चार अर्ब बराबरको रकम आवश्यकपर्ने गाउँपालिका अध्यक्ष लछुमन गुरुङले जानकारी दिए ।
धाममा धर्मशाला, सडक र मन्दिरलगायतका अन्य संरचना निर्माणका लागि ठूलो रकमको आवश्यकता रहेको छ । हाल सङ्घीय सरकारको आयोजनामा दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको छ, त्यसको स्तरोन्नति आवश्यक रहेको छ ।
महावै पाटनबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिने र मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगञ्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने गरेको कालीकोटको महावै गाउँपालिकाका दुर्गाप्रसाद काफ्लेले जानकारी दिए ।
महावैमा वर्षा याममा जानेका लागि कालीकोट र दैलेखबाट चरनका लागि भेडाबाख्रा तथा गाईभैँसीका गोठमा बस्न सकिने कालीकोटको शुकालिका गाउँपालिकाका नरप्रसाद आचार्यले बताए ।