काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।
अहिले त्यहाँ ४ दलका नेताहरूबीच सरकार गठनलाई लिएर छलफल भइरहेको छ । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र सचिव वर्षमान पुन छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल छन् ।
प्रधानमन्त्रीका लागि आजै दाबी पेश गर्ने जानकारी राष्ट्रपति कार्यालयमा दिइसकिएको छलफलमा सहभागी एक नेताले बताए। “संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्न आउँदै छौं भन्ने जानकारी राष्ट्रपति कार्यालयमा दिइसकेका छौं,” ती नेताले भने।
प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्। त्यहीअनुसार, एमाले, माओवादी, स्वतन्त्र पार्टी र जसपाले सरकार गठनका लागि दाबी पेश गर्न लागेका हुन्।
प्रचण्डलाई नेतृत्व दिन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, सीके राउतको जनमत पार्टीका ६ तथा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद जोडिने छन् ।
आधा कार्यकालपछि एमालेले सत्ता हातमा लिने सहमति भएको छ ।