काठमाडौँ : मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्।
उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो।
उनले सूचनामा भनेका छन्–‘प्रतिनिधि सभाका सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ) ले स्पष्ट पारेको अवस्था छ अतः प्रतिनिधि सभाका सदस्य टेक बहादुर गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि उक्त आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरि आयोगको प.सं. ०७९ /०८०, च नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधि सभाका माननीय सदस्य श्री टेक बहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७९/०९/०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।’
भ्रष्टाचार निवारण ऐन २०५९ ले सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्ति उपर भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था गरेको छ।
उक्त ऐनको दफा ३३ ले सार्वजनिक पद धारण गरेको व्यक्तिका विरुद्ध मुद्दा लागेको अवस्थामा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने प्रावधान छ। उनीविरुद्ध २०७५ माघ २१ गते दायर भएको भ्रष्टाचार मुद्दा अझै विशेषले फैसला गरेको छैन।
त्यस्तै महोत्तरी ३ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीबारे भने संसद सचिवालयले निर्णय लिन सकेन। संविधान जारी भएपछि भएको आन्दोलनमा महतोले २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन बिकको हत्या गरेको आरोप लागेको छ।
एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका कोइरी प्रहरीको फरार सूचीमा रहेका छन्। मंसिर ४ गते भएको चुनावमा माओवादीका गिरिराजमणि पोखरेललाई पराजित गर्दै निर्वाचित भएपछि उनी खुलमखुला हिँडे पनि प्रहरीले पक्राउ गरेको छैन।