काठमाडौं : नेपाली कांग्रेस र माओवादी नेतृत्वको गठबन्धन भत्केर पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको धेरै भएको छैन । सात दलको समर्थनमा प्रधानमन्त्री बनेका ‘प्रचण्ड’ले सोमबार मात्रै शपथ ग्रहण गरेका छन् । केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै प्रदेशको सत्ता समीकरण फेरबदल हुने निश्चित छ, कुनै संशय छैन ।
अब कर्णाली प्रदेशको मुख्यमन्त्री को हुने ? आगामी प्रदेश सरकारको नेतृत्व कसले गर्ने ? भन्ने विषय, यतिबेला चासो बनेको छ । (११ पुस) सोमबार मात्रै निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण भएको छ । ४० सदस्यीय प्रदेशसभामा २१ जना सांसदको समर्थन भए साधारण बहुमत पुग्छ र सरकार गठन हुन्छ । त्यो नेकपा माओवादी र एमालेबीच भएको गठबन्धनमा पुग्छ ।
हाल नेकपा माओवादीसँग १३ र एमालेसँग १० गरेर २३ सिट छ । केन्द्रमा जस्तै प्रदेशमा पनि १४ सिट ल्याएर संसद्मा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । अन्य स्वतन्त्र र राप्रपाको सीमित सिट छ । बाँकी, नयाँ समीकरण अनुसार माओवादी–एमालेको नेतृत्वमा प्रदेश सरकार गठन गर्नु पर्नेछ ।
सरकारको नेतृत्वका लागि एमाले र माओवादी केन्द्र दुबैले दाबी गरिसकेका छन् । पहिलो दाबी माओवादीको छ भने दोस्रो एमालेको । सिट संख्याका हिसाबले एमालेभन्दा माओवादी ठूलो छ । आफुलाई एमालेभन्दा ठूलो दल ठानेर प्रदेश सरकार गठन आफ्नै नेतृत्वमा हुनुपर्छ भन्ने, माओवादीको दाबी छ ।
तर, ०७४ मा २० आफ्नो हुँदाहुँदै पनि १३ सिटको माओवादीलाई समर्थन गरेको अनुभव एमालेसँग छ । त्यसबाट गतिलो पाठ समेत सिकेको एमालेले, योपटक सिधा कुरा गरेको छ, ‘भयो ! अब पुग्यो, सरकारको नेतृत्व पहिला हामी गछौँ र पछि तपाईँहरु गर्नुहोस्, यसैगरि सम्झौता गरौँ ।’
रुकुम पश्चिमबाट निर्वाचित सांसद राजकुमार शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान विष्टको नाम माओवादी केन्द्रबाट चर्चामा छन् । एमालेबाट प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोद शाह चर्चामा छन् । यी नेताहरु, सरकारको नेतृत्व गर्ने आकांक्षीमा छन् । चासो देखाउनु स्वाभाविक हो । तर, एमालेले यामलाल कँडेललाई नै अघि सार्नेछ ।
माओवादी केन्द्रबाट को ? भन्ने अन्यौल कायम नै छ । यसका लागि माओवादी केन्द्र कर्णाली प्रदेश समन्वय बैठक बसिरहेको छ । तर, माओवादी केन्द्रभित्र दुई गुट भएकाले त्यो अन्योल देखिएको हो । जनार्दन शर्मा गुट हाबी भए राजकुमार शर्मा संसदीय दलको नेता बन्नेछन् भने शक्ति बस्नेत गुट दाबी भए बिन्दमान बिष्ट संसदीय दलको नेता बन्नेछन् ।
तर, जनार्दनको जोडबलले राजकुमारलाई नै दलको नेता बनाएर, माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दाबीमा अघि सार्नुपर्ने, प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु खबर पुगिसकेको छ । सम्भवतः यो सामग्री तयार गर्दासम्म त आएको छैन । पछि यस्तो खबर आउनेछ, ‘प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा ।’
अब कर्णाली सरकारको नेतृत्वका लागि नेकपा एमालेबाट यामलाल कँडेल र माओवादी केन्द्रबाट राजकुमार शर्मा हुनेछन् । तर, सरकार गठन भने एमालेको नेतृत्वमा हुनेछ । मुख्यमन्त्री, यामलाल कँडेल बन्नेछन् ।
(०७४ साल)
पहिलोपटक कर्णाली सरकार गठन हुँदा मुख्यमन्त्रीको लाइनमा थिए, यामलाल कँडेल । आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्थे । त्यसका लागि आवश्यक पर्ने सिट २१ सिट, यामलाल कँडेलकै गोजीमा थियो ।
तर, कालिकोटबाट निर्वाचित महेन्द्रबहादुर शाहीले त्यतिबेला भने, ‘म मुख्यमन्त्री भएन भने पार्टी राजनीतिबाट बिदा लिन्छु ।’ शाहीको यो दबाब, सि..धा प्रचण्डमाथि थियो । अन्ततः प्रचण्डले, १३ सिट हातमा भएका महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाएरै छोडे । त्यतिबेला, यामलाल कँडेलले गोजीका २१ सिटलाई हातमा भएका १३ सिटमाथि बुझाए । र, महेन्द्रबहादुर शाहीलाई समर्थन गरे ।
तर, सत्ता स्वार्थ र कुर्सीको लुछाचुडीले तीन वर्षमै एमाले–माओवादी आ–आफ्नो कित्तामा आए । एमालेले माओवादीलाई गरेको समर्थन फिर्ता लियो । त्यतिबेला, मुख्यमन्त्री महेन्द्र शाहीले कुनै हालतमा विश्वासको मत पाउनेवाला थिएनन् । के गर्नु ? गुट र स्वार्थको दाउपेजका कारण, उनले विश्वासको मत पाए । नेपालको संसदीय अभ्यासमा पहिलोपटक एमालेबाट चार जनाले फ्लोर क्रस गरेर, एमालेकै नेतृत्वमा सरकार गठन हुने सम्भावनालाई समाप्त पारिदिए ।
रपनि, कर्णाली सरकारको नेतृत्व गर्ने सपनालाई मलजल गरेर बसेका छन्, यामलाल कँडेल । सुर्खेत क्षेत्र नम्बर २ को प्रदेश सभा (१)बाट निर्वाचित कँडेल, अहिले एमालेको प्रदेश इन्चार्ज छन् । माओवादी र कांग्रेसबाट समकालीन नेताहरु केन्द्रीय राजनीतिमै रहेका बेला उनी प्रदेशमै छन् ।
उनको एउटै दाउ छ, प्रदेश सरकारको नेतृत्व गर्ने । तर, यति छिटो ‘सरकारको नेतृत्व गर्छु’ भन्ने यामलाल कँडेललाई नै लागेको थिएन । यति छिटो, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले, नेकपा एमाले अध्यक्ष केपी ओलीसामु आत्मसमर्पण गर्छन् भन्ने कमैलाई लागेको थियो । मंसिर ४ गते हातमा लगाएको मसीलाई पनि लागेको थिएन कि, ‘कांग्रेस–माओवादी नेतृत्वको गठबन्धन टुट्छ र एमालेसँग नयाँ गठबन्धन हुन्छ ।’
आखिर कांग्रेस सभापति शेरबहादुर देउवाको सत्ता लिप्सामा रमाउने ‘राजनीतिक थ्यौरी’ र महत्त्वाकांक्षाले संसद्मा ठूलो दल बनेको नेपाली कांग्रेस, फेरि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा थन्किएको छ ।
कर्णालीमा सत्ताको नेतृत्व गर्न खोजेको माओवादीलाई एमालेले पहिलो सरकारमै समर्थन गरेका कारण योपटक माओवादी केन्द्रले नेकपा एमालेलाई नै समर्थन गर्नुपर्ने छ ।
यसबारे माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा निर्वाचित केही नेतालाई बुझ्दा र तपाईंहरुले मुख्यमन्त्रीको दाबी गर्नुभएको हो ? भन्ने प्रश्न गर्दा, ती नेताको जवाफ हो तर भन्ने नै छ ।