काठमाडौँ : वर्षौदेखि भनिदै आएको सबैभन्दा ठूलो कुरा हो, कर्णाली गरीब छैन्, बनाइयो । हिजो पञ्चायतका बेला नेताहरु भन्थे । खासगरी कांग्रेस नेताले राजासँग यही गुनासो गर्थे । पञ्चायत ढल्यो । प्रजातन्त्र पुनःस्थापना भयो ।
देशमा कम्युनिष्टको जगजगी बढ्यो । त्यसपछि कम्युनिष्ट नेताहरुले कांग्रेसलाई भन्न थाले, कर्णाली प्राकृतिक स्रोत साधनले धनी छ । भरिपूर्ण छ । कांग्रेसको सोच, योजना र राजनीतिले कर्णाली गरीब भयो ।
कम्युनिष्टले यति मात्रै भनेनन्, २०५२ सालमा त राजा, प्रजातन्त्र र कांग्रेसविरुद्ध तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरिदियो । त्यही जनयुद्धका नायक थिए, प्रचण्ड अर्थात पुष्पकमल दाहाल । कर्णालीमा यसका कमाण्डर मानिन्थे, जनार्दन शर्मा, शक्ति बस्नेत, प्रकाण्ड, महेन्द्रबहादुर शाही, नरेश भण्डारी लगायतका नेताहरु ।
अहिले तिनै नेता सत्तामा छन् । तर कर्णाली अझै गरीब छ । कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार छ । उनको सरकारमा ७ जना जति मन्त्री छन् । तर त्यो सरकारमा एक जना पनि दलित, जनजाती छैनन् । बाहुन र क्षेत्री जातको बाहुल्यता छ ।
आफैले लडेको जनयुद्धबाट कर्णालीमा सरकार चलाउने हैसियत र व्यवस्था बनाएका मुख्यमन्त्री शाहीका अगाडि सयौँ अवसर छ । ठूलो ठूलो सुनौलो मौका छ । जनयुद्ध लडेका र बुझेका जनता छन् । परिवतनको नायक अहिले पनि राष्ट्रिय राजनीतिका प्रमुख खेलाडी छन् ।
तर पनि मुख्यमन्त्री शाही कर्णाली प्रदेशमा निदाइरहे । उनले न आफ्ना मन्त्रीलाई खुशी पार्न सके । न प्रदेशलाई कायापलट गर्ने विकास गरे । न त कर्णालीका सबै नेताहरुलाई मिलाएर राष्ट्रिय राजनीतिमा कर्णालीलाई एकताबद्ध गर्ने ऐतिहासिक काम गरे ।
मात्रै उनले मुख्यमन्त्री कार्यालय कुर्ने र जनार्दन शर्माको आदेश पालना गर्ने काम मात्रै गरिरहे । जसले गर्दा जनताको सरकार, गणतन्त्रको सरकार भन्ने मुख्यमन्त्री शाही सामन्ती सोच र शैलीका शासक मात्रै बने । जनताको मन मनमा बस्ने हैसियत र फराकिलो छाती उनले बनाउन सकेनन् ।
यही असफलता चम्किएका बेला मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढाल्न एमालेले समर्थन फिर्ता लिएको घोषणा गरेको छ । लगत्तै प्रदेश प्रमुखले मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन पत्र लेखेका छन् । यो पत्रको सारमा मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।
एमालेले समर्थन फिर्ता लिएपछि अब शाही नेतृत्वको सरकारको बहुमत पुग्ने सम्भावना कम छ । त्यतिबेला नेकपा एमाले र माओवादी मिल्दा पनि एमालेको सांसदको जित धेरै थियो । प्रदेशमा एमालेको बहुमत पुग्छ । तर माओवादी एक्लैलाई बहुमत पुर्याउन गाह्रो छ ।
यस्तो बेला उनले कसरी बहुमत पुर्याउँछन र सरकार बचाउँछन् हेर्न बाँकी छ ।
मुख्यमन्त्रीको नियति
जीवनमा महेन्द्र शाहीले जनयुद्ध लडे । थुप्रै हतियारसँग उनले मित्रता गाँसे । तत्कालिन सेना, प्रहरी र शसस्त्रसँग उनले टाउकोको मुल्य तोकेर रगतको खोलामाथि शासन व्यवस्था परिवर्तन गर्ने युद्ध लडे । तर अहिले कैयाँै जनता मारिएर उनी त्यही सेनाको सुरक्षाभित्र कर्णालीमाथि शासन गरिरहेका छन् ।
तर उनको जिल्ला कालिकोट अहिले पनि विकट जिल्लाका रुपमा यथावत छ । कणाली गरीब नै छ । रारा ताल अलपत्र नै छ । कर्णालीमा विकासका अनेकौ नमूना भने ओझेलमै छन् । तर पनि महेन्द्र शाही सुविधासम्पन्न सुर्खेतको मुख्यमन्त्री कार्यालयमा आरामले बसिरहेका छन् ।
सरकार जोगाउने उनको प्रयास जारी छ । तर उनी निदाएका बेला जाजरकोटमा नवराज विक लगायत ६ जना युवाको बर्बर हत्या भयो । तर मुख्यमन्त्री शाहीले कानमा तेल हालेर बसे । केही समयअघि उनकै जिल्ला कालिकोटमा मनवीर सुनार र मना सार्कीको हत्या भयो । त्यतिबेला पनि शाहीले कान थुने ।
अर्थात शाहीलाई मान्छे मारिएकाप्रति अलिकति पनि चिन्ता लागेन । अहिले पनि छैन् । प्रचण्ड र जनार्दनको छत्रछायामा रहेका मुख्यमन्त्री शाहीलाई जनताको भन्दा नेताको चिन्ता छ । हुन पनि उनी जनताले भन्दा नेताले गर्दा मुख्यमन्त्री बनेका हुन् ।
यसले पनि उनी नेताको खुट्टा ढोग्ने मुख्यमन्त्री हुन् । जनताको सेवा भनेको उनी कालिकोटबासीका लागि मात्रै गर्न चाहन्छन् । बाँकी कर्णालीका नौ जिल्ला उनका लागि बिरानो जस्तै हुन् । यस्तो अवस्थामा उनले कसरी सत्ता चलाउलान ? कसरी बहुमत पुर्याउलान ? मुख्यमन्त्रीको यस्तो सामन्ती संस्कार बुझेर पनि अब उनलाई कसले भरथेग गर्लान जस्ता थुप्रै प्रश्न छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र यामलाल कडँेल जनार्दन र प्रचण्डलाई समेत मुर्छा पार्ने गरी मुख्यमन्त्री शाहीविरुद्ध अनवरत लागिरहेका छन् । जसको निर्णायक मोडमा उनी बल्ल पगेका छन् । तर यसमा कँडेल सफल हुन्छन् वा शाहीको सामन्ती सत्ता चलिरहन्छ भनेर हेर्न बाँकी छ ।