काठमाडौं: सत्ता गठबन्धनबीच पद बाँडफाँटमा छलफल सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार दाहाल निवास खुमलटारमा प्रदेश सरकार निर्माणसहितका विषयमा छलफल भएको छ ।
आजको प्रारम्भिक छलफलमा एमालेले ४ प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एमालेले नेतृत्व गर्ने सम्भावना बढेको एमाले निकट स्रोतले बताएको छ । स्रोतका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा परेको छ ।
उक्त सहमति अनुसार प्रदेश एक, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशका एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। यसैगरी लुम्बिनी र बाग्मती प्रदेशमा माओवादी नेतृत्वमा र मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भएको छ।
कर्णालीमा १० सिटसहित तेस्रो दल रहेको एमालेले मुख्यमन्त्री दाबी गरेको छ । एमालेले स्थायी कमिटी सदस्य यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेको छ । कँडेल पहिलो प्रदेशसभामै मुख्यमन्त्री बन्न चाहेका थिए तर केन्द्रले गरेको बाँडफाँटमा कर्णाली प्रदेशको नेतृत्व माओवादीको भागमा परेको थियो ।
नेकपा विभाजनपछि कँडेलले अविश्वास प्रस्ताव ल्याएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न खोजेका थिए तर ४ सांसदले फ्लोरक्रस गरेपछि उनको प्रयास असफल भएको थियो । ४० सदस्यीय प्रदेशसभामा एमालेको १० र माओवादीको १३ सिट छ । माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा निर्वाचित भएका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीको ११ र एमालेको १० सिट छ । ७ सिटसहित निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ । राप्रपाको १ स्थान रहेको छ । त्यसैगरी एकीकृत समाजवादीको ४ सिट रहेको छ । यहाँ ठूलो दल कांग्रेसको १९ सिट छ । माओवादी नेता खगराज भट्ट मुख्यमन्त्रीको दौडमा छन् ।