जुम्ला: हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डा राजेन्द्रमणि गिरीले जानकारी दिए ।
चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढेको छ ।सामान्य अवस्थामा औसतमा एक सय जना बिरामी उपचारका लागि आउने गरेकामा यो समयमा दैनिक दुई सय ९० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको प्रतिष्ठानका डा गिरीको भनाइ छ । चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
बिहानमा धैरै चिसो हुने गरेको छ । चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ । बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए । “चिसोले घर बाहिर निस्किन सकिएको छैन।
चिसोले गाउँबाट ट्युसन पढ्न बजार आएका विद्यार्थीलाई सकस भएको छ । चिसोकै कारणले यहाँका स्थानीय तहले सामुदायिक विद्यालयलाई हिउँदे बिदासमेत दिएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ ।
चन्दननाथ नगरपालिका स्थानीयवासी सुनिता रावतले भने न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने गरेको छ ।” चिसोले बालबच्चामात्रै होइन, ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे कामलाई प्रभावित पारेको जिल्लाका स्थानीयवासीले जनाएका छन् ।
जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन् ।
जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात र अधिकमत तापक्रम १३ दशमलव डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोबाट जोगिन दाउरा सङ्कलन गर्ने गरेको यहाँका स्थानीयवासी बताए ।