कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ । यसका लागि नगरपालिकाले रु २५ लाख रकम विनियोजन गरेको छ ।
वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ । वडा नं ११ मा आइतबार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन ।
वडाध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए । यसपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि स्थानीय छनोट गर्ने उनले जानकारी दिए ।
छलफल कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानिनोक्सानी नहुने गरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए। “वन संरक्षणकर्मी भएकाले म आफैँले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दैन, गराउछु पनि भन्न सक्दिन।
उपभोक्ताले सहमति दिएका छन्, त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ । सामुदायिक वनका पूर्वअध्यक्ष धनबहादुर बमले हानिनोक्सानी नहुने गरी उपयुक्त ठाउमा शीतभण्डार निर्माण गरिनुपर्ने बताए । राजनीतिककर्मी भक्तराज जोशीले सबैले एकबद्ध भएर वडामा आएको योजनालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए ।
समाजसेवी गोपाल नाथले योजना निर्माणका लागि सबै क्षेत्रबाट सकारात्मक जफाव आएकाले कार्यान्वयन हुनेमा ढुक्क रहेको बताए । नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुँदा व्यावसायिक खेतीमा संलग्न किसानले कृषिउपज, तरकारी, फलफूललगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नुपर्ने अवस्था रहेको छ ।
स्थानीयस्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । नगर प्रमुख रणबहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको भए पनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने बताए ।