नाम : रोहित चन्द
पेशा : फूटबलर
कर्णाली व्यक्तित्व नंं : ६९
काठमाडौँ : नेपाली फूटबलमा रोहित चन्दको नाम स्वर्णिम अक्षरले लेखिएको छ । किनकी रोहित एक मात्रै यस्ता डिफेन्डर हुन्, जसले नेपाली राष्ट्रिय टिममा सानै उमेरदेखि खेल्ने मौका मात्रै पाएनन्, दक्षिण एसियामै उत्कृष्ट फूटबलरको रुपमा पनि चिनिने नेपाली बनेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सन् १९९३ मा जन्मिएका रोहित चन्द नेपाली राष्ट्रिय फूटबल टिमका एक प्रभावशाली खेलाडी हुन् । १३ वर्षको उमेरमा एन्फा एकेडेमीमा प्रवेश गर्ने मौका पाएका रोहितले १६ वर्षमूनिको प्रतियोगिता खेल्ने क्रममा इरानविरुद्ध डेब्यु गरेका थिए ।
सन् २००८ मा उनले इरानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि १६ वर्षको उमेरमा रोहितलाई राष्ट्रिय फूटबल टिमका लागि बोलाइएको थियो । तर उनले त्यतिबेला खेल्न पाएनन् ।
यद्यपी, अरु राष्ट्रिय खेलाडीसँगै रोहितले कर्णालीबाट आएर पनि उत्कृष्ट खेल्दै निकै छिटो राष्ट्रिय टोलीमा आफ्नो प्रभाव छाड्न सफल भएका थिए । नेपाली राष्ट्रिय टोलीमा परेर खेलेपछि रोहितले इण्डोनेसियामा उत्कृष्ट फूटबल खेल्ने मौका पाएका हुन् ।
इण्डोनेसियाको पर्सिजा जाकार्ता टिमबाट त्यहाँको लिग खेलेका रोहितले एकपटक उत्कृष्ट फूटबल खेलाडीको पुरस्कार पाएका छन् । सन् २०१८ मा रोहितको टिमले उपाधि जित्दा उनले इण्डोनेसियामा प्रतियोगिताकै उत्कृष्ट फूटबलरको पुरस्कार पाएका थिए । उनी इण्डोनेसियामा उत्कृष्ट फूटबलरको पुरस्कार पाउने पहिलो नेपाली फूटबलर हुन् ।
रोहितले इण्डोनेसियामा पर्सिजाबाहेक अरु फूटबल क्लबमा पनि खेलेका थिए । पर्सिजा उनको तेस्रो क्लब थियो । तर उनको फूटबल करियर भारतको बेंग्लोरबाट उभार आएको मानिन्छ । बेंग्लोरमा उनले त्यहाँको हिन्दुस्तान एरोनेटिक स्पोर्टिङ क्लबाट खेल्ने मौका पाएका थिए । सन् २०११ मा त्यो टिममा राम्रो प्रदर्शन गरेपछि उनीमाथि केही युरोपका टिमले समेत नजर लगाएका थिए ।
त्यतिबेला आर्सनल, टोटेनहम जस्ता क्लबले रोहितको क्षमता विलक्षण भएको भन्दै उनीमाथि नजर लगाएपनि ट्रायल दिने अवस्था भने सिर्जना हुन सकेन । पछि रोहित नेपालको राष्ट्रिय टिमबाट खेल्दै इण्डोनेसिया क्लबमा आबद्ध भए । अहिले पनि रोहित इण्डोनेसियामा छन् ।
उनले नेपाली राष्ट्रिय टिममा सन् २०१५ मा उपकप्तानको जिम्मेवारीसमेत पाएका थिए । राष्ट्रिय टिमबाहेक रोहितले नेपालको ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबका लागि खेले । इण्डोनेसियामा निकै सफल भएका रोहित मलेसियन क्लबमा पनि जोडिएका थिए ।
रोहित नेपालमा सन् २०१९ मा भएको पल्सर स्पोर्टस् अवार्डमा विशेष पुरस्कार पाउन सफल भएका थिए । धेरै समय इण्डोनेसियामा खेलेका रोहित दक्षिण एसियामा चम्किएका फूटबलर हुन् । रोहित फूटबलबाहेक किताब पढ्न रुचाउँछन् ।
सुर्खेतमा जन्मेर लामो समय राष्ट्रिय फूटबल टिमबाट खेल्ने र दक्षिण एसियामै चर्चित बनेका रोहित कर्णालीका पहिलो फूटबलर मानिन्छन् । पछिल्लो समय रोहित राष्ट्रिय टिमको छनौटमा परेका छैनन् । उनले राष्ट्रिय टिमबाट विश्वकप छनौटका साथै साफ च्याम्पियनशिप र केही मैत्रीपूर्ण खेल खेलेका छन् ।
फिफाका अनुसार रोहितले विश्वकप फूटबलको एसियाली छनौटमा चार खेल खेलेका छन् । जसमा उनले टिमोर लेस्टेविरुद्ध डेब्यु गर्दा नेपाल विजयी भएको थियो । रोहितले विश्वकप छनौटका चार खेल खेल्दा नेपालले दुई खेलमा जित हात पारेको थियो भने एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो ।
रोहित राष्ट्रिय फूटबल टिमबाट सबैभन्दा धेरै चर्चामा आएको खेल चाँही २०७० सालमा काठमाडौँमा भएको साफ च्याम्पियनशिपमा हो । जतिबेला नेपालले सेमिफाइनलमा अफगानिस्तासँग खेलिरहेको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले खेलको अन्त्यतिर पेनाल्टी पाएको थियो ।
डिफेन्डर र मिडफिल्डर दुवैमा उत्कृष्ट खेल्न सक्ने रोहितले त्यतिबेला पेनाल्टी हान्ने अवसर पाएका थिए । तर दुवैपटक पाएको पेनाल्टीमा उनले गोल गर्न नसकेपछि नेपाल अफगानिस्तानसँग १–० गोलले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो ।
नेपाल त्यसबेला फाइनल पुग्ने टिमका रुपमा हेरिएको थियो । तर रोहितले त्यतिबेला पेनाल्टी मिस गरेपछि उनको आलोचना धेरै चर्किएको थियो । त्यसपछि रोहित इण्डोनेसिया गएका थिए । उनले उतैबाट लामो समय त्यहाँको लिग खेलिरहेका छन् ।
कर्णालीमा जन्मेर राष्ट्रिय तथा दक्षिण एसिया फूटबलमा चिनिएको नाम बनेका रोहित चन्दलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ६९ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]