सुदूरपश्चिम: आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ ।
संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन् । कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो ।
कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिए । आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने भोलि निर्वाचन प्रक्रियामा जान्छौँ भनेका छौँ ।
सुदूरपश्चिम प्रदेशसभामा अन्य राजनीतिक दलले आफ्नो पार्टीको संसदीय दलको नेता छनोट गरिसकेका छन् । ठूलो दल कांग्रेस भने आजसम्म दलको नेता छनोट गर्ने विषयमा अलमलमै छ । प्रदेशसभामा नेकपा (एमाले)ले राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)ले खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र नेकपा (एकीकृत समाजवादी)ले दीर्घबहादुर सोडारीलाई पार्टीको संसदीय दलको नेता छनोट गरिसकेको छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार तथा राप्रपा र स्वतन्त्रका एक÷एक जनाको प्रतिनिधित्व छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भइसकेको छ ।