नाम : हिरा ‘बिजुली’ नेपाली
पेशा : रंगमञ्च
पद : संस्थापक, कर्णाली कला केन्द्र
कर्णाली व्यक्तित्व नं. : ६८
काठमाडौँ : कर्णालीमा जन्मेर काठमाडौँमा संघर्ष गरेका धेरै जनामध्ये केहीले काठमाडौँका थियटरमा नाटक हेरेका छन् । संख्या थोरै भएपनि कर्णालीकै धेरैले नाटक जरुर हेरेकै छन् । यसरी हेर्ने सूचिमा कर्णालीका राजनीतिज्ञ, लेखक, पत्रकारदेखि कलाकार र कर्मचारी पनि छन् ।
जो कुनै न कुनै दृष्टिकोणले कर्णालीको प्रतिनिधित्व गर्छन् । त्यसरी काठमाडौँका थियटरमा नाटक हेर्नेमा पालिकाका मेयर, अध्यक्षदेखि कर्णाली प्रदेश सरकारका मन्त्रीसमेत छन् । जो बारम्बार काठमाडौँ आउँछन्, समय मिलेको खण्डमा नाटक हेरेर फर्किन्छन् ।
तर कर्णालीमा जसरी हुन्छ, आफ्नो तर्फबाट नाटकघर अर्थात रंगमञ्च अझ भनौँ थियटर स्थापना गर्न ज्यान फालेर लाग्दैनन् । लागेका पनि छैनन् । कही कतै बहस हुँदा, कर्णालीमा नाटकघर चाहिन्छ भन्नेमा विमति राख्दैनन् ।
समर्थन गर्छन्, तर आफूले सकेको सहयोग गर्न ज्यान जाला अघि बढ्दैनन् । बरु पछि पछिबाट भाग्छन् । त्यसरी भाग्ने अग्रमोर्चामा पालिकाका जनप्रतिनिधि छन् भने त्यसभन्दा अग्रमोर्चामा कर्णाली प्रदेश सरकारका ‘सिजनल’ मन्त्री छन्, हुन् । जो आश्वासन दिन्छन्, पद सकिएपछि आफैँ हराउँछन् ।
अन्यथा, कर्णालीमा रंगमञ्च खोल्नका लागि आफ्नो समयमा नाटकको शिलान्यास गरिसकेका प्रेमदेव गिरी, कुलमान नेपाली, गणेशभक्त गौतम, प्रकाश लामिछाने, माया थापा र हिरा बिजुलीहरु मात्रै बोल्नुपर्ने थिएन । यी नामहरुमा पनि आज एक्लै कर्णालीमा नाटकघर स्थापना गर्न लागिपरेका व्यक्ति हुन्, हिरा बिजुली नेपाली ।
जसको एउटै सपना कर्णालीमा नाटकघर खोल्ने छ । यसका लागि उनी दशौँ वर्षदेखि काठमाडौँ, सुर्खेत र मुगुमा संघर्ष गरिरहेका छन् । उनले बोल्ने हरेक बोलीमा कर्णालीको नाटकघर छ । उनले लेख्ने हरेक शब्दमा कर्णालीमा थियटर खोल्ने सपना छ ।
यसका लागि कर्णाली कला केन्द्र नामक संस्था खोलेर उनले धेरै पाइला अघि बढाएका पनि छन् । तर कर्णालीमा अधिकांश राजनीतिज्ञ र ब्युरोक्र्याटको केवल पैँसा कमाउने सपना हावी हुँदा हिरा बिजुलीहरु कर्णालीमा नाटकघर खोल्ने सपना मनमै राखेर केवल सडक र मिडियामा मात्रै बोलिरहनु परेको छ ।
२०६८ सालदेखि कर्णालीमा नाटकघर खोल्ने सपना पालेका हिरा बिजुली काठमाडौँमा अझै पनि संघर्षरत छन् । पछिल्लो समय उनी कर्णालीका जल्दोबल्दो समस्याविरुद्ध बनाएका नाटक देखाउन मुगुका विभिन्न ठाउँ पुगेका छन् ।
तर पनि सुर्खेतमा नाटकघर खोलेरै छाड्ने उनको सपना छ । काठमाडौँका थियटरमा ‘कर्णाली दख्खिन बग्दो छ’, ‘गर्भ छिटा’, ‘पम्फा फूल’ लगायत नाटक मञ्चन गरिसकेका हिरा मुगुको भामबाडामा जन्मेका हुन् ।
काठमाडौँमा गुरुकुल हुँदा नेपाली रंगमञ्चका बादशाह मानिने सुनील पोखरेलसँग नाटक सिकेका उनका धेरै सहकर्मीले झापा, विराटनगर, पोखरा, बुटवल लगायतका सहरमा नाटकघर खोलिसकेका छन् । र, ती नाटकघरले व्यवसायिक उडान राम्रैसँग भरिरहेका छन् । तर कर्णालीमा नाटकघर खोल्ने हिराको सपना अझै पूरा भएको छैन ।
कर्णालीमा नाटकघर खोलेर कर्णालीकै युवाहरुलाई अभिनयको असली कला सिकाउने र कर्णालीको कला संस्कृतिलाई संरक्षण गर्दै त्यसको सञ्चार तथा विस्तार गर्ने सपना पालेका हिरा बिजुलीलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिको ६८ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा क्रियाशिल र उत्कृष्ट व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]