सुर्खेत : वीरेन्द्रनगर नगरपालिकास्थित सिटी बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सनले ४६ करोड ५० लाख रुपैयाँ नगरपालिकालाई अझै बुझाएको छैन ।
बसपार्क सञ्चालनको जिम्मा लिएको कम्पनी पीआर कन्स्ट्रक्सनले १७ महिनासम्मको भाडा तिरेको छैन। वीरेन्द्रनगर नगरपालिका मातहतको बसपार्क सञ्चालनको जिम्मा भक्तपुरको पीआर कन्स्ट्रक्सनले लिएको थियो।
बसपार्क निर्माण पूरा भएपछि नगरपालिकाले भक्तपुरको पीआर कन्स्ट्रक्सनलाई सञ्चालनको जिम्मा दिएको थियो । तर १७ महिनाको भाडा नतिरेको उक्त कम्पनीका सञ्चालक भने २०७७ चैत २५ गतेदेखि सम्पर्कविहीन छन् ।
कम्पनीले बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिका अदालती प्रक्रियामा गयो। नगरपालिकाले गत साउन १३ गते सुर्खेत जिल्ला अदालतमा सञ्चालक कम्पनी पीआर कन्स्ट्रक्सनविरुद्ध मुद्दा दर्ता गरायो। नगरपालिकाको गत असार ३१ गतेको निर्णयअनुसार मुद्दा प्रक्रिया सुरु गरिएको थियो।
वीरेन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले पीआर कन्स्ट्रक्सनबाट ४ करोड ५० लाख सावाँ र हर्जना ४२ करोड गरी ४६ करोड ५० लाख असुल गर्नुपर्ने बताए। उनले भने, ‘कम्पनीले बसपार्कको भाडा नबुझाएका कारण नगरपालिकाले अन्याय ठानेर अदालत गइसकेको छ। अदालतमा मुद्दा विचाराधीन छ। अब अदालतबाट कस्तो फैसला आउँछ। त्यसैअनुसार नगरपालिका अगाडि बढ्छ।’
विभिन्न माध्यमबाट कम्पनीका सञ्चालकलाई भाडा बुझाउन ताकेता गरिए पनि सम्पर्कमा नआएपछि नगरपालिका अहिले जिल्ला अदालत पुगेको छ । नगरपालिकाले साँवा र हर्जानासहित ६१ करोड ५० लाख रुपैयाँ मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।
उनका अनुसार कन्स्ट्रक्सनलाई खराबसूचीमा राख्ने गरी प्रक्रियासमेत सुरु गरिएको छ । साउन १३ गते नगरपालिकाले अदालतमा मुद्दा दर्ता गराएको उनको भनाइ छ । नगरपालिका र पीआर कन्स्ट्रक्सनबीच ०७७ साउन २५ गते मासिक किस्तामा भाडा भुक्तानी हुने गरी सिटी बसपार्क सञ्चालनका लागि सम्झौता भएको थियो ।
बसपार्क व्यवस्थापन कार्यविधि २०७६ अनुसार सञ्चालक कम्पनीले कोठाभाडा, बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय सेवा शुल्क, विज्ञापन शुल्क र समितिको सिफारिसमा नगर कार्यपालिकाबाट निर्णय भएका अन्य शुल्क उठाउन पाउँछ। कार्यविधिअनुसार नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन कार्य समिति रहन्छ। उपप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सदस्य रहन्छन्। बसपार्क व्यवस्थापन हेर्ने सम्बन्धित शाखाको प्रमुख सदस्यसचिव रहने व्यवस्था छ।